वीरगञ्ज । पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भाठा धामभन्दा ८ किलोमिटर भित्र चुरे पहाडको चुचुरोमा अवस्थित घोडे मसान बाबाको मन्दिरमा यस वर्ष दुई दिनका लागि पूजापाठ र दर्शन गर्न पर्सा राष्ट्रिय निकुञ्जले अनुमति दिएको छ।
निकुञ्ज कार्यालय आधाभार, बाराले आज साउन १९ गते र भोलि साउन २० गतेका लागि मात्र भक्तजनहरूलाई अनुमति दिएको जानकारी दिएको हो। निकुञ्जभित्रको घना जंगल र वन्यजन्तुको बाहुल्य क्षेत्र भएकाले सामान्य अवस्थामा पूजापाठका लागि प्रवेश अनुमति नदिइने गरिन्छ।
यस वर्ष पोखरिया नगरपालिका–९ का अर्जुन महत्तो चाँइको नेतृत्वमा श्रद्धालुहरूले परम्पराअनुसार साउन महिनामा घोडे मसानमा अष्टयाम पूजा गर्ने हेतुले पोखरिया नगरपालिका कार्यालयमार्फत आवेदन दिएका थिए। सो सिफारिसका आधारमा निकुञ्जले दुई दिनको लागि विशेष अनुमति दिएको हो।
घोडे मसान मन्दिर पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ अन्तर्गत चुरे पहाडको टाकुरोमा अवस्थित छ। यहाँ भगवान महादेवको त्रिशुल र माता पार्वतीको सानो मूर्ति स्थापना गरिएको छ।
स्थानीय श्रद्धालुहरूका अनुसार यो स्थान लामो समयदेखि धार्मिक आस्थाको केन्द्र रहँदै आएको छ। तर, गहिरो जंगल र हात्ती, बाघजस्ता वन्यजन्तुको जोखिम भएका कारण सुरक्षा दृष्टिकोणले पूजापाठमा नियमित रोक लाग्दै आएको छ।
पर्सा राष्ट्रिय निकुञ्जले यसपालिको अनुमति सिमित दिनका लागि मात्र दिएको हुँदा भक्तजनहरूलाई सावधानी अपनाएर निर्धारित दिनमै दर्शन र पूजापाठ सम्पन्न गर्न अनुरोध गरिएको छ।