×

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार कन्नड फिल्मका सुपरस्टार दर्शन थुगुदीपा र अभिनेत्री पवित्रा गौडा सहित सात जना अभियुक्तहरूको जमानत रद्द गरेको छ।

न्यायाधीश जेबी पार्डीवाला र आर महादेवनको इजलासले अभियुक्तलाई डिसेम्बर २०२४ सम्म जमानत दिने उच्च अदालतको आदेशविरुद्ध कर्नाटक सरकारको पुनरावेदनलाई सदर गरेको हो।  यससँगै उनीहरूलाई फेरि जेल पठाइएको छ।

दर्शन र सह-अभियुक्तले पीडित रेणुकास्वामीलाई अपहरण गरेको र कुटपिट गरी हत्या गरेको आरोप छ । रेणुकास्वामीको शव पछि नालीमा फेला परेको थियो।

फार्मेसीमा काम गर्ने रेणुकास्वामीले दर्शनका साथी पवित्रा गौडालाई सामाजिक सञ्जालमा अश्लील सन्देश पठाएको आरोप छ। त्यसैले उनलाई निशाना बनाइएको हो।

सर्वोच्च अदालतको बेन्चले जुलाई २४ मा मुद्दामा आफ्नो निर्णय सुरक्षित राख्दै मौखिक रूपमा पनि भनेको थियो कि उच्च अदालतले जमानत दिने क्रममा आफ्नो विवेक प्रयोग गर्ने तरिकाबाट आफू सन्तुष्ट नरहेको बताएका थियो।

लाइभ लका अनुसार, आज बेन्चले भन्यो, ‘हामीले जमानत दिने र रद्द गर्ने दुवै पक्षलाई विचार गरेका छौँ। यो स्पष्ट छ, उच्च अदालतको आदेशमा गम्भीर कानुनी त्रुटिहरू छन्। आदेशले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ र ३४ अन्तर्गत जमानत दिनुको कुनै विशेष वा ठोस कारणहरू रेकर्ड गर्दैन।’

अदालतले स्पष्ट पार्‍यो, ‘यहाँ गरिएका टिप्पणीहरू केवल जमानत दिने विषयमा मात्र सीमित छन् र मुद्दाको गुणलाई असर गर्ने छैनन्।’

Back to top