मुम्बई । फिल्ममेकर पहलाज निहलानीले हालै एक पुरानो प्रसङ्ग सम्झिँदै अभिनेत्री माधुरी दीक्षितले आफ्नो सुरुवाती करिअरमा गोविन्दासँग काम गर्न अस्वीकार गरेको बताएका छन्।
उनका अनुसार माधुरीले यस निर्णय आफ्नो सेक्रेटरी रिक्कू राकेश नाथको सल्लाहमा लिएकी थिइन्। निहलानीले भने, ‘त्यसबेला गोविन्दा इन्डस्ट्रीमा नयाँ थिए र माधुरीले पनि आफ्नो पाउला मजबुत बनाउन खोजिरहेकी थिइन्। रिक्कूले उनलाई गोविन्दासँग काम नगर्न सम्झाएको थियो।’
निहलानीले खुलासा गरे अनुसार गोविन्दाको करिअरको दोस्रो फिल्म बन्ने ‘इल्जाम’मा माधुरीलाई साइन गरिए पनि उनले अस्वीकार गरिन्। त्यसपछि निलम कोठारीलाई कास्ट गरिएको थियो, जसले यो फिल्ममार्फत स्टारडम हासिल गरिन्।
निहलानीले भने, ‘मैले माधुरीलाई ‘आग ही आग’ पनि प्रस्ताव गरेको थिएँ, तर उनले अस्वीकार गरिन्। पछि मैले निलमलाई त्यसमा पनि कास्ट गरेँ। त्यसपछि ‘पाप की दुनियाँ’मा समेत निलम नै खेलिन्।’
उनले माधुरीले बारम्बार फिल्म अस्वीकार गर्ने बानीप्रति असन्तुष्टि जनाउँदै भने, ‘माधुरीले मेरा सबै प्रस्ताव अस्वीकार गर्थिन्, जबकि मैले बनाएका तीनै फिल्मले गोल्डन जुबिली मनाए। उनीका धेरै फिल्महरू बन्द भए वा फ्लप भए।’