वीरगञ्ज । वीरगञ्जमा मङ्गलवार नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको ‘कोशेढुङ्गा’ ले वीरगञ्जमा दर्शकको मन जितेको हो ।
चलचित्र पत्रकार संघ नेपाल पर्साले कोशेढुङ्गा चलचित्र निर्माण पक्ष र क्यु एफ एक्स सिनेमा हल वीरगञ्जको समन्वयमा विशेष प्रदर्शनीको आयोजना गरेको थियो । चलचित्रले वर्तमान नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा उतार्दै युवालाई स्वदेशमै बस्न र आफ्नै माटोमा पौरख गर्न प्रेरित गर्ने सन्देश दिएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद गौतमले बताए । उनले भने, “कोशेढुङ्गा साँच्चिकै उत्कृष्ट बनेको छ । यसले युवाहरूलाई बिदेसिने सोच बदल्न कोशेढुङ्गा साबित हुने विश्वास लिएको छु ।”
श्रीजंग गणका गणपति लोकेन्द्र कार्कीले पनि गौतमको भनाइमा समर्थन जनाउँदै चलचित्रले विदेशमा पनि सहज छैन भन्ने सन्देश दिएको बताए । युवाले स्वदेशमै अवसर खोज्ने प्रेरणा पाउने उनको बुझाइ छ ।
अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलले कथा मन छुने रहेको प्रतिक्रिया दिएका छन् । “विशेषगरी गाउँको परिवेश र सर्वसाधारणको जीवनलाई जस्ताको तस्तै पर्दामा उतारिएको छ । यसले भावुक मात्र बनाउँदैन, सोच्न पनि बाध्य बनाउँछ,” उनले भने ।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले प्लस टु पढेका र विदेश जाने तयारीमा रहेका युवाले अनिवार्य रूपमा हेर्नुपर्ने चलचित्र भएको बताए । त्यस्तै, महिला उद्यमी एवम् समाजसेवी गुड्डी जोशीले महिला प्रधान कथालाई सरल ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्दै विवाहदेखि सामाजिक दबाबसम्म महिलाले भोग्नुपर्ने वास्तविकता चलचित्रमा जीवित भएको बताइन् ।
विशेष प्रदर्शनीमा भोजपुरी कलाकार प्रदेशी साह, भोजपुरी गायक सुनिल पण्डित, नेपाल प्रिजेन्टर्स एसोसिएसनका अध्यक्ष विवेक खतिवडा, वीरगञ्ज महानगरपालिकाका प्रमुखका प्रेस सल्लाहकार नवराज फुयाँल, प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौला लगायतले चलचित्रलाई उत्कृष्ट भन्दै हेर्न नछुटाउने सुझाव दिएका थिए ।
चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, स्नेहा जोशी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई वीरगञ्ज मात्र नभई देशव्यापी रूपमा दर्शकले रुचाइरहेको कार्यकारी निर्माता दिनेश खड्काले बताए । उनले भने, ‘हामीले दर्शकको अपार माया पाइरहेका छौँ । अहिले कलाकारसहितको टिम देश दौडामा निस्किएको छ, दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रतिक्रिया लिने यात्रा हामीले नेपालगञ्जबाट सुरु गरेका छौँ ।’ आजदेखि नेपालगञ्जबाट सुरु भएको यात्रा दाङ, बुटवल, पोखरा, बुटवल, चितवन, हेटौडा हुँदै वीरगञ्ज आउने योजना रहेको उनले बताए ।