नयाँ दिल्ली । भारतीय कमेडियन जाकिर खानले स्वास्थ्य समस्याका कारण स्टेज शोजबाट केही समय ब्रेक लिने घोषणा गरेका छन्।
न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डनमा परफर्म गर्ने पहिलो भारतीय कमेडियन बनेका जाकिरले गत एक वर्षदेखि बिरामी रहँदै पनि लगातार टुर गर्दै आएको बताएका हुन्।
जाकिरले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत स्वास्थ्यसम्बन्धी जानकारी दिँदै भनेका छन्, “म गत १० वर्षदेखि लगातार टुरमा छु। दिनमा २–३ शो, रातभर निन्द्रा नपाउनु, बिहानै फ्लाइट, निश्चित समयमा खान नपाउनु सजिलो थिएन। करिब एक वर्षदेखि बिरामी भए पनि काम गर्नुपर्यो। तर अब डाक्टरको सल्लाहमा ब्रेक लिनुपर्ने भएको छ।’
उनका अनुसार अबको इन्डिया टुरमा सीमित सहरमै प्रस्तुति हुनेछन् र नयाँ शो थपिने छैनन्। यसपटकको स्पेसल रेकर्डिङपछि उनी लामो ब्रेकमा जाने योजना रहेको छ।
करिब १० वर्षदेखि लगातार टुर गरिरहेका जाकिरले प्रशंसकहरूको माया र समर्थनका लागि आभार व्यक्त गरेका छन् ।