वीरगंज, पुष २१ - वीरगंजलाई प्रदेश नम्बर दुईको प्रादेशिक राजधानी बनाउनु पर्ने माग गर्दै आजबाट वीरगंजको घण्टाघरमा रिले अनशन सुरु भएको छ । वीरगंजलाई राजधानी बनाउन गठित आन्दोलनरत संघर्ष समितिले शुक्रबारदेखि वीरगंजको घण्टाघरमा रिले अनशन शुरु गरेको हो ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले रिले अनशनमा ऐक्यबद्धता जनाउदै अनशन बसेकाहरुलाई फुलको माला लगाएर स्वागत समेत गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगंजलाई प्रदेश नम्बर दुईको प्रादेशिक राजधानी बनाउन वीरगंज महानगरपालिकाको नगर कार्यपालिका बैठकले समेत निर्णय गरिसकेको जानकारी गराएका थिए ।
उहाँले भने, " वीरगंजलाई राजधानी बनाउन नगर कार्यपालिकाको बैठकबाट समेत हामीले निर्णय गरिसकेका छौं र निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ काठमाडौं द्रुतमार्गको नजिक रहेको र सुक्खा बन्दरगाह, आईसीपी तथा औद्योगिक करिडोर मात्र नभई वीरगंजमा प्रदेशको राजधानीका लागि प्रशासनिक निकायहरू रहने र बस्नेसमेत पर्याप्त ठाउँ समेत रहेकोले वीरगंजलाई मात्र प्रादेशिक राजधानी बनाउने पर्छ ।'
'सबै पूर्वाधार भएको हुनाले वीरगंजलाई प्रादेशिक राजधानी बनाउदा लागत समेत कम लाग्ने छ', मेयर सरावगीले भने, 'वीरगंजलाई राजधानी बनाउन संघर्षको हरेक मापदण्ड हामीले अपनाउदै सरकार र प्रदेशसभाका सदस्यहरु माथि दवाव सृजना गर्ने छौं ।'
संघर्ष समितिले शुक्रबार देखि सुरु गरेको रिले अनशनको पहिलो दिन , नेपाली कांग्रेसका नेता एवम् पुर्व मन्त्रि सुरेन्द्र चौधरी, नेकपा एमालेका बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, युवा नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका छन् । वीरगंजलाई राजधानी नबनाए सम्म आफ्नो संघर्ष जारि राख्ने अनशन बसेका व्यक्तिहरुको भनाई छ ।