वीरगञ्ज । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको झुटो परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच कायम गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। उनलाई काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा प्रभाव पार्ने तथा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए।
घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी बुझ्दा सिंहको मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीले सिंहमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। साथै यस्ता झुटा परिचय दिई सरकारी निकायमा प्रभाव पार्ने वा अनधिकृत पहुँच कायम गर्ने प्रयास कानुनविपरीत हुने भएकाले यस्ता गतिविधिप्रति सचेत रहन पनि आग्रह गरेको छ।