एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
चन्द्रपुर । चन्द्रपुर नगरपालिकामा एकल महिलालाई लक्षित गरी सञ्चालन गरिएको डल (खेलैना) तालिममा अनियमितता भएको आरोप लागेको छ। कार्यपालिका वडा सदस्य सुशीला पाण्डेको समन्वयमा सञ्चालन भएको उक्त तालिममा लक्षित वर्गभन्दा बाहिरका व्यक्तिहरूलाई सहभागी गराइएको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।
जानकारीअनुसार असार ५ गतेदेखि सुरु भएको १० दिने तालिममा नियमअनुसार ३० जना एकल महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ। तर उद्घाटनका बेला जम्मा दुई जना मात्र एकल महिला उपस्थित रहेको र अन्य सहभागीहरू अधिकांश २० देखि २२ वर्ष उमेर समूहका युवती तथा लक्षित वर्गसँग सम्बन्धित नभएका व्यक्तिहरू रहेको आरोप लगाइएको छ।
यसरी एकल महिलाका लागि छुट्याइएको तालिममा वास्तविक लाभग्राहीको सहभागिता न्यून रहेको र अन्य व्यक्तिलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरिएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन्।
यस्तै, नगरपालिकाका कर्मचारी मिश्रीलाल साहको संलग्नतामा तालिम सञ्चालनको सम्पूर्ण प्रक्रिया अघि बढाइएको आरोपसमेत लगाइएको छ। यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
स्थानीयहरूले सार्वजनिक स्रोतबाट सञ्चालन हुने यस्ता तालिम पारदर्शी, मापदण्डअनुसार र वास्तविक लक्षित वर्गलाई लाभ पुग्ने गरी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। साथै, सम्बन्धित निकायले घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्।