वीरगञ्ज । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा “आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद” विषयक अन्तरसंवाद कार्यक्रम आइतबार वीरगञ्जस्थित वृन्दावन अतिथिगृहमा सम्पन्न भएको छ।
मदन भण्डारी प्रतिष्ठान, पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा पुरुषोत्तम पौडेल सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य लालबाबु शेख, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख विजय सरावगी तथा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायतको विशिष्ट उपस्थिति रहेको थियो।
अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद को सिद्धान्त वर्तमान राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा समृद्धिको आधार निर्माणमा यस सिद्धान्तले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यसको मूल भावना व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्व, वैचारिक योगदान र राजनीतिक विरासतको स्मरण गर्दै उहाँका विचारहरूले नेपाली राजनीतिलाई नयाँ दिशा प्रदान गरेको बताए। साथै वर्तमान पुस्ताले उहाँका आदर्श, सिद्धान्त र राष्ट्रिय हितप्रतिको समर्पणबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि व्यक्त गरियो।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, मदन भण्डारी प्रतिष्ठान पर्साका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष शत्रुधन नेपालले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै जननेता मदन भण्डारीका विचार, सिद्धान्त र आदर्शलाई समाजमा अझ व्यापक रूपमा स्थापित गर्न यस्ता वैचारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।