×

वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा दुर्गा पूजाको अवसरमा लाउडस्पिकरको अति प्रयोगका कारण स्थानीय बासिन्दा त्रस्त भएका छन् ।

पूजापाठका नाममा घरका छत, बिजुलीका पोल र गाउँका चोकचोकमा जथाभाबी झुन्ड्याइएको ठूलो आवाजका स्पिकरहरूले ध्वनि प्रदूषण बढाएको पर्सा गढीकी कृष्णकुमारी बस्नेतले गुनासो गरिन् ।

पर्साका सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी, पर्सागढी, बहुदरमाई, पोखरिया, कालिकामाई, छिपहरमाई, विन्दवासिनी र वीरगञ्ज महानगरपालिकालगायतका क्षेत्रमा नौ दिनसम्म चल्ने नवरात्रि पूजामा पूजापाठसँगै गीतसङ्गीत, भक्ति र नाचगानमा उच्च आवाजमा स्पिकर प्रयोग भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

सखुवाप्रसौनीका शिवनाथ चौधरीका अनुसार यसरी अत्यधिक आवाजमा बजाइएका स्पिकरका कारण विद्यार्थीहरूको पठनपाठनमा बाधा पुग्नुका साथै दीर्घरोगी, मधुमेह, मुटुरोगी र वृद्ध वृद्धाहरूलाई गम्भीर समस्या भइरहेको छ ।

पटेर्वासुगौली–३ निवासी पूर्व शिक्षक तथा समाजसेवी महेन्द्र चौधरीले भने, “ध्वनि प्रदूषणले सुत्ने, पढ्ने र कुरा गर्ने वातावरण नै बिग्रिएको छ । बालबालिकाको पढाइ मात्र नभई घरपरिवारको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परेको छ ।”

स्थानीय बासिन्दाले पूजा स्थलभित्र मात्र स्पिकरको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार पूजापाठ आफ्नै आस्थासँग सम्बन्धित भए पनि गाउँभरि गुन्जिने गरी बजाउँदा अरूलाई ठूलो असुविधा भएको छ ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि गाउँगाउँमा सचेतना फैलाउन आवश्यक रहेको र प्रहरी प्रशासनले पनि यसतर्फ ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

Back to top