×

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो कलाकार थिइन्, जसले सानो भूमिकामा पनि दर्शकको मन जितेकी थिइन्— उनी हुन् मिस मिमी। उनको विशिष्ट शारीरिक बनावटका कारण उनलाई धेरै फिल्महरूमा देखिन्थ्यो।

आश्चर्यको कुरा, मिस मिमी कुनै प्रशिक्षित अभिनेत्री थिइनन्, बरु उनी सडकमा भीख माग्ने एक महिला थिइन्, जसको मानसिक अवस्था पूर्ण रूपमा ठिक थिएन। उनको सडकबाट सिनेमाको पर्दासम्मको यात्रा निकै रोचक छ।

उनलाई आमिर खान र माधुरी दीक्षितको सुपरहिट फिल्म ‘दिल’ ले पहिचान दियो। फिल्ममा बक्सिङको एक दृश्य छ, जहाँ आदिल इरानी हार्छन् र सजायस्वरूप मिस मिमीले उनलाई चुम्बन गर्छिन्। यसै दृश्यले उनलाई ‘मिस मिमी’ को नामले चर्चित बनायो।

अभिनेता आदिल इरानीले एक अन्तर्वार्तामा बताएअनुसार, उनले मिस मिमीलाई सडकमा भीख मागिरहेको देखेका थिए। उनका भाइ इन्दर कुमार त्यस समय एक अनौठो चरित्रको खोजीमा थिए। मिस मिमीको विशिष्ट व्यक्तित्वबाट प्रभावित भएर उनले ‘दिल’ मा सानो भूमिका दिएका थिए।

यसपछि मिस मिमीले ‘बेटा’ र ‘दिलजले’ जस्ता फिल्महरूमा पनि काम गरिन्। तर, मानसिक स्वास्थ्य ठिक नभएका कारण उनले जे भेट्टाए, त्यही खाने गर्थिन्, जसले उनको स्वास्थ्यमा नकारात्मक असर पारेको थियो। 

केही रिपोर्टअनुसार, पछि अचानक उनको स्वास्थ्य बिग्रियो र उनी गम्भीर बिरामी परेकी थिइन्। सन् २००० मा उनको निधन भयो ।

Back to top