वीरगञ्ज । नेपालीहरूको प्रमुख पर्व छठको अब दुई दिन मात्र बाँकी रहँदा वीरगञ्जस्थित सिर्सिया नदीको बढ्दो प्रदूषणले हजारौँ व्रतालु र श्रद्धालुहरूलाई दूषित पानीमा पूजा गर्नुपर्ने बाध्यता देखिएको छ ।
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूबाट निस्कने रसायनयुक्त फोहोर र वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको कमजोरीका कारण नदीको पानी कालो र दुर्गन्धित बनेको छ । प्रदूषणका कारण छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वमाथि प्रश्नचिह्न खडा गरेको छ ।
नदीलाई प्रदूषित गरेर उद्योगहरूले वीरगञ्जवासीको धार्मिक आस्थामाथि प्रहार गरेको स्थानीय हीरा ठाकुरले आरोप लगाए । उद्योगहरूले छठ पर्वको संस्कृतिमाथि नै प्रहार गरेको आरोप लगाउँदै उनले भने, “वीरगञ्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र वीरगञ्ज उद्योग वाणिज्य संघ सिर्सिया नदी प्रदूषण पछाडि जिम्मेवार छन् । यी निकायहरूले एक अर्कामाथि दोषारोपण गर्नुबाहेक प्रदूषण नियन्त्रणका लागि केही गरेका छैनन् ।”
अघिल्ला वर्षहरूमा छठ नजिकिँदा उद्योगहरूले एक साता अघिदेखि फोहोर फाल्न बन्द गर्ने गरे पनि यस वर्ष छठ दुई दिन बाँकी रहँदा समेत नदीको अवस्था ज्युँकात्युँ रहेको रानीघाट छठ पूजा व्यवस्थापन समितिका पदाधिकारी प्रदीप सर्राफले बताए ।
सिर्सिया नदीमा रानीघाटवासी मात्र नभएर पर्सा र बारामा डेढ दर्जनभन्दा बढी गाउँ र टोलका स्थानीयहरूले छठ मनाउने गरेको सामाजिक अभियन्ता बिक्की सर्राफले बताए । “प्रदूषित पानीमा व्रतालुले पूजा गर्नुपर्ने अवस्था अक्षम्य अपराध हो,” उनले भने ।
चार दशकदेखि सिर्सिया नदी अत्यधिक प्रदूषित बनेको छ । बाराको सिमरास्थित रामवनबाट निस्कने नदी तीन किलोमिटरमै प्रदूषित बन्न थाल्छ र वीरगञ्ज पुग्दा पूर्ण रूपमा कालो हुन्छ । नदीको पानी मानव, चौपाया र सिँचाइका लागि अयोग्य छ भने धार्मिक कार्य र दाहसंस्कारमा समेत प्रयोग गर्न कठिन भएको छ ।
डेढ दशकअघिको सिर्सिया नदी अनुगमन समितिको प्रतिवेदनले ४८ प्रदूषण स्रोत पहिचान गरेको थियो । प्रतिवेदनले पर्सा–बारा औद्योगिक कोरिडोरका ४६ वटा उद्योग र वीरगञ्ज महानगरको फोहोर र अवैध मदिरा भट्टीलाई सिर्सिया नदी प्रदूषित गर्ने मुख्य स्रोतको रूपमा पहिचान गरेको थियो ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जनकुमार सिंहले लाखौँको धार्मिक आस्थामाथि खेलबाड भएको बताए । अघिल्लो वर्षको चैते छठमा नदीको प्रदूषणका कारण खोला किनारमा दुई कृत्रिम पोखरी बनाएर पूजा व्यवस्था गरिएको उनले जानकारी दिए ।
“वर्षेनि छठको समयमा प्रदूषणको कुरा उठ्छ, तर प्रशासन र स्थानीय सरकारले उद्योगीमाथि कडा कारबाही गर्न हिम्मत गर्दैनन्,” उनले गुनासो गरे ।
नेपालमा मात्र नभई भारतको रक्सौल र आसपासका बासिन्दा पनि सिर्सिया नदीको प्रदूषणबाट प्रभावित छन् । प्रदूषित पानीमा छठ पर्व मनाउनुपर्ने बाध्यताले धार्मिक र सांस्कृतिक महत्त्वमाथि असर परेको छ । पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाका रामवन, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया, साथै बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाउँ, बेहरा र बलुवाका बासिन्दा समस्याबाट प्रभावित छन् ।
वीरगञ्ज महानगरपालिकाले पटक–पटक अनुगमन र छलफल गरेको दाबी गरे पनि ठोस नतिजा नआएको स्थानीयको भनाइ छ । गत असोज २८ गते भएको सरोकारवालाहरूसँगको छलफलमा उद्योगीहरूले वाटर ट्रीटमेन्ट प्लान्ट सञ्चालन नगरी फोहोर फाल्ने प्रवृत्तिलाई मुख्य समस्या ठहर गरिएको थियो ।
महानगरका मेयर राजेशमान सिंहले बाराका स्थानीय तहको असहयोग भएको आरोप लगाए पनि स्थानीय प्रशासन र उद्योगीहरूले एक अर्कालाई दोषारोपण गरेका थिए ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले प्रदूषण गर्ने उद्योगमाथि कडा कारबाही र दीर्घकालीन सफाइ योजना माग गरेका छन् । “छठ पर्वका लागि नदी सफा गर्न बारम्बार आग्रह गर्दा पनि सुनुवाइ भएको छैन,” अध्यक्ष सिंहले भने ।
सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि तत्काल कदम नचालिए धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छठ पर्व दूषित पानीमा मनाउनुपर्ने बाध्यता कायम रहने देखिन्छ ।
छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि स्थानीय प्रशासन, महानगरपालिका र उद्योगीहरूले ठोस कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन् । अन्यथा, छठ पर्वको पवित्रता र महत्त्वमाथि थप सङ्कट आउने निश्चित छ ।