×

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीले अनुभवी, नवप्रवेशी, नयाँ तथा विवादित अनुहारको मिश्रण गर्दै उम्मेदवार छनोट गरेको कारण जिल्लाको राजनीतिक माहौल थप रोचक बनेको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले नवप्रवेशी नेता प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेर आइतबार राति मात्रै एमाले प्रवेश गरेका यादवलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँस्थित आफ्नै निजी निवासमा पार्टी प्रवेश गराउँदै टिकट प्रदान गरेका थिए ।

पूर्व मन्त्रीसमेत रहेका यादव यसअघि पर्सा–१ बाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुन् । राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका यादव लामो समय मधेस केन्द्रित दलमा सक्रिय रहँदै आएका थिए । पछिल्लो समय जसपा नेपालबाट टिकट पाउने सम्भावना कमजोर देखिएपछि उनले अन्तिम समयमा पार्टी परिवर्तन गरेको विश्लेषण गरिएको छ ।

तेस्रो मधेस आन्दोलनको पृष्ठभूमिमा भएको प्रतिनिधिसभा निर्वाचन २०७२ मा पहिलो पटक सांसद बनेका यादव केही समय वन तथा वातावरण मन्त्री भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई थोरै मतान्तरले पराजित गर्दै पुनः निर्वाचित भएका उनी दोस्रो कार्यकालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र झन्डै एक वर्षभन्दा बढी समय खानेपानी मन्त्री बनेका थिए । यद्यपि, मन्त्री बन्नकै लागि पटक–पटक पार्टी परिवर्तन गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

राजनीतिक विवादका बाबजुद विकास निर्माणका काममा भने यादवले उल्लेखनीय योगदान दिएको स्थानीयको भनाइ छ । सडक, धर्मशाला, मन्दिर, मस्जिद, टावर लाइट जडानदेखि वीरगञ्जको खानेपानी सङ्कट समाधानमा उनले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिइएको छ । खानेपानी मन्त्री रहँदा विभिन्न स्थानमा बोरिङ जडान, ओभरहेड ट्याङ्की निर्माण तथा दीर्घकालीन समाधानका योजनाहरू अघि बढाइएको थियो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले नयाँ अनुहार रिमा कुमारी यादवलाई उम्मेदवार बनाएको छ । वीरगञ्ज महानगरपालिका–२९ मुसौली निवासी र एमाले नेता प्रद्युम्न यादवकी श्रीमती रहेकी रिमालाई पार्टीको केन्द्रीय नेतृत्वले टिकट दिएको हो । तर, सङ्गठनभित्र उनको योगदान न्यून रहेको भन्दै स्थानीय तहमा असन्तुष्टि देखिएको छ । स्थानीय पार्टी पङ्क्तिको सिफारिस विपरीत केन्द्रीय नेतृत्वले सिधै टिकट दिएको आरोपसहित आलोचना भइरहेको छ । यद्यपि, महिलालाई प्राथमिकता दिएको भन्दै निर्णयको स्वागत गर्ने आवाज पनि सँगसँगै उठिरहेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले यस पटक नयाँ र युवा उम्मेदवार रुपेश पाण्डेयलाई अघि सारेको छ । पोखरियामा जन्मिएका पाण्डेय सफल उद्यमीका रूपमा परिचित छन् । वीरगञ्जदेखि काठमाडौँसम्म व्यवसाय विस्तार गर्दै सयौँलाई रोजगारी समेत दिएका उनले युवाहरूको चाहना अनुसार राजनीतिमा प्रवेश गरेको बताउँदै आएका छन् । 

स्थानीयसँग निरन्तर सम्पर्क, चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर समस्या सुन्ने र समाधानका उपाय सुझाउने शैलीका कारण पाण्डेयले ‘काम गर्ने नेतृत्व’ को छवि बनाएको स्थानीयको बुझाइ छ । उनले नाराभन्दा योजना, भाषणभन्दा व्यवहार र प्रतिस्पर्धाभन्दा परिणाममा आधारित राजनीति आवश्यक रहेको धारणा राख्दै आएका छन् ।

पर्सा – ३ को पोखरिया, पकाहाँ, महुवन, चीपुरलगायत क्षेत्रको व्यवस्थित विकास, कृषिमा प्रविधिकरण, शिक्षा–स्वास्थ्य सेवामा पहुँच विस्तार, धार्मिक स्थल प्रवर्द्धनमार्फत रोजगारी र पर्यटन विकास उनका प्रमुख एजेन्डा रहेका छन् । एमाले जिल्ला नेतृत्वको बलियो समर्थन रहेको पाण्डेयलाई पार्टी अध्यक्ष ओलीले पनि विश्वास गरेर टिकट दिएको स्रोतको दाबी छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा भने एमालेले पुनः विवादित पृष्ठभूमिका जालिम मियाँलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमालेको टिकटबाट चुनाव लडेका मियाँ नेपाली काँग्रेसका रमेश रिजालसँग पराजित भएका थिए । मियाँ यसअघि नेकपा (माओवादी केन्द्र)बाट जगरनाथपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भए पनि पछि एमाले प्रवेश गरेका थिए ।

मियाँमाथि अवैध चौपाया तस्करी तथा धार्मिक द्वन्द्व फैलाएको आरोप लाग्ने गरेको छ । सोही कारण उनको उम्मेदवारीलाई लिएर आलोचना भइरहेको छ ।

चार निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रमा मात्र महिलालाई टिकट दिएको, नवप्रवेशी र सङ्गठनमा योगदान नगरेका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै एमाले आन्तरिक तथा बाह्य आलोचनामा परेको छ । यसअघि पर्सा–३ मा मात्र विजयी भएको एमालेले यस पटक चारै क्षेत्रमा कस्तो नतिजा ल्याउने हो भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ ।

Back to top