×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने दिशामा काम गरिरहेको आरोप लगाएका छन्। उनले संघीयता कमजोर पार्ने प्रयास जारी रहे मुलुक पुनः गम्भीर राजनीतिक तथा सामाजिक द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन्।

एक अन्तर्वार्ताका क्रममा यादवले वर्तमान सरकारले चार महिनाको अवधिमा अर्थतन्त्र, कृषि, शिक्षा, स्वास्थ्य तथा सुशासनलगायत कुनै पनि क्षेत्रमा उल्लेखनीय सुधार गर्न नसकेको दाबी गरे। उनले सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने प्रतिबद्धताविपरीत थप कर लगाएर जनतालाई थप भार दिएको आरोप लगाए।

यादवका अनुसार सरकार गठन भएयता आर्थिक गतिविधि सुस्त बनेको, उद्योग–व्यवसाय चलायमान हुन नसकेको तथा किसानले आवश्यक मलखादसमेत सहज रूपमा नपाएको अवस्था छ। उनले अहिलेको शासनकालमा लोकतान्त्रिक संस्थाहरू कमजोर बन्दै गएको र संवैधानिक निकायहरूको भूमिका प्रभावहीन भएको टिप्पणी गरे।

उनले वर्तमान सरकारले विभिन्न नियुक्तिमा समावेशिताको सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाउँदै मधेसी, दलित, आदिवासी–जनजाति लगायत समुदायलाई राज्यका महत्वपूर्ण निकायबाट क्रमशः बाहिर धकेल्ने काम भइरहेको बताए।

‘सुशासनको अनुभूति जनताले पाएनन्’

सरकारले सुशासनलाई प्राथमिकता दिएको दाबी गरे पनि त्यसको अनुभूति जनताले गर्न नसकेको यादवको भनाइ छ। उनले बीवाईडी खरिद प्रकरण, मन्त्री तथा सांसदहरूको सम्पत्ति छानबिनमा देखिएको विभेदलगायत विषय उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणमा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।

उनले सुशासन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै वर्तमान पदमा रहेका मन्त्री र सांसदहरूको सम्पत्तिमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

‘देश चुनौतीपूर्ण मोडमा पुगेको छ’

यादवले नेपालको अर्थतन्त्र जर्जर बन्दै गएको, बाह्य शक्तिहरूको प्रभाव बढ्दै गएको तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वास कमजोर भएको दाबी गरे। उनले छिमेकी मुलुकसँग विश्वासको सम्बन्ध सुदृढ नगरे मुलुक थप जटिल अवस्थामा पुग्ने चेतावनी दिए।

उनले वर्तमान परिस्थितिमा देशभित्र अस्थिरता, भय र अनिश्चितताको वातावरण बढ्दै गएको उल्लेख गर्दै सरकारले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

संघीयतामाथि खतरा रहेको दाबी

जसपा अध्यक्ष यादवले प्रदेश सभा खारेज गर्ने प्रस्ताव तथा संघीय संरचनालाई कमजोर बनाउने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए। उनका अनुसार प्रदेश सभा बिना संघीय प्रणालीको अस्तित्व रहँदैन।

उनले नेपाली कांग्रेस, एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक–फरक शैलीमा संघीयतालाई कमजोर बनाइरहेको आरोप लगाए। संविधान कार्यान्वयन, प्रहरी समायोजन तथा प्रदेशको अधिकार विस्तारमा प्रमुख दलहरूले आवश्यक इच्छाशक्ति नदेखाएको उनको भनाइ थियो।

‘सरकार ढाल्ने पक्षमा छैनौं’

यादवले आफ्नो पार्टी तत्काल सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकारले राम्रो काम गर्न अवसर दिनुपर्ने धारणा राख्दै जनताका समस्या समाधान नभए भने आफूहरू जनताको पक्षमा उभिने बताए।

उनले वर्तमान सरकारलाई काम गर्ने वातावरण र सहयोग दिनुपर्ने उल्लेख गर्दै जनताको आवाज बेवास्ता गरिए लोकतान्त्रिक ढंगबाट संघर्षमा उत्रिनुपर्ने अवस्था आउने चेतावनी दिए।

‘हामी चुनावमा हारेका हौं, राजनीतिमा होइन’

चुनावमा कमजोर परिणाम आए पनि आफ्नो पार्टीको विचार, एजेन्डा र मुद्दा पराजित नभएको यादवले बताए। उनले सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावका कारण जनमत प्रभावित भएको दाबी गर्दै समयसँगै जनता पुनः आफ्नो पक्षमा फर्किने विश्वास व्यक्त गरे।

उनले आगामी दिनमा समान विचार भएका दलसँग सहकार्य गर्न सकिने संकेत गर्दै आवश्यक परे एक्लै संघर्ष गर्न पनि तयार रहेको बताए।

यादवले अन्त्यमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, समावेशितालाई थप प्रभावकारी बनाउने र लोकतन्त्रलाई संस्थागत गर्ने काम आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै त्यसको विपरीत गए देश पुनः गम्भीर द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिए।

Back to top