×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनअपेक्षासहित सत्तासीन भएको नयाँ सरकारलाई धेरै क्षेत्रमा एकैचोटि हात नहाल्न र मुलुकको मुख्य संकट समाधानका लागि सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सुझाव दिएका छन् ।

संविधानको धारा २४५ संशोधनका लागि कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारको कार्यशैलीप्रति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले सरकारको बहुआयामिक क्षेत्रमा हात हाल्ने रणनीतिलाई सांकेतिक रूपमा टिप्पणी गर्दै भनेका छन्, “एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन। ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ।”

पूर्व प्रधानमन्त्री भट्टराईले वर्तमान राजनीतिक र सामाजिक परिवेशलाई ‘जेनजी’ विद्रोहको पृष्ठभूमिका रूपमा चित्रण गरेका छन् । युवा पुस्ताको ठुलो आकांक्षा र बदलिँदो चेतका कारण यो सरकार गठन भएको उल्लेख गर्दै उनले धेरैतिर अल्झिनुको सट्टा यतिवेला देशको प्रमुख समस्याका रूपमा रहेका सुशासन र आर्थिक समृद्धिमा मात्रै केन्द्रित हुन नयाँ सरकारलाई सचेत गराएका छन् ।

मुलुकको आर्थिक संकट र युवा पलायनलाई रोक्न सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिँदै उनले देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । रोजगारी सिर्जनाका लागि जे-जे कदम चाल्नुपर्ने हो, सरकारले सम्पूर्ण ध्यान त्यसमै लगाउनु नै अहिलको समयमा सबैभन्दा बुद्धिमानी हुने भट्टराईको ठहर छ ।

Back to top