×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शम्भु प्रसाद गुप्तालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको रास्वपाले अन्ततः गुप्ताको नाममा सहमति जुटाएको पार्टी निकट स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार शम्भु गुप्ता हाल जनकपुरधाममा छन् । त्यहाँ उनले चुनावी सभाका सिलसिलामा पुगेका रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग छलफल गरिरहेका छन् । सो छलफल उम्मेदवारीको अन्तिम टुङ्गो लगाउने प्रयोजनका लागि भएको बताइएको छ ।

यसअघि रास्वपाले पर्सा–१ बाट संविधानसभा सदस्य अजय द्विवेदीलाई उम्मेदवार बनाउने प्रयास गरेको थियो । तर द्विवेदीले नेपाली काँग्रेसबाट टिकट नपाएपछि मात्र रास्वपामा प्रवेश गरेर उम्मेदवार बन्ने सर्त राखेपछि पार्टी नेतृत्व पछि हटेको स्रोतको भनाइ छ ।

गुप्ता नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गर्न लागेका हुन् । उनी यसअघि प्रदेशसभा सदस्य निर्वाचन लड्ने तयारीमा थिए । प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा उनले नेकपा (एमाले) को तर्फबाट पर्सा १ (२) बाट मधेस प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर उक्त निर्वाचनमा उनी मधेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतसँग पराजित भएका थिए ।

चुनाव लड्नकै लागि गुप्ताले वीरगञ्ज महानगरपालिकाको जागिरबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनी तत्कालीन उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । तर त्यहाँबाट टिकट नपाउने निश्चित भएपछि अन्तिम समयमा एमाले प्रवेश गरी चुनाव लडेका थिए । प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा भने उनले उम्मेदवारी नदिई एमालेका उम्मेदवारलाई सहयोग गरेका थिए ।

गुप्ता एमाले निकट बुद्धिजीवी सङ्गठनको मधेस प्रदेश अध्यक्षसमेत हुन् । व्यावसायिक पृष्ठभूमि भएका उनी वीरगञ्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । उनले विभिन्न सहकारी संस्थामा सञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन् भने वीरगञ्ज–१२ मै निजी विद्यालय र कलेजसमेत सञ्चालन गरिरहेका छन् ।

यसअघि पर्सा–१ बाट रास्वपाका जिल्ला सभापति बुद्धिप्रसाद (हरि) पन्तले टिकट पाउने चर्चा चलेको थियो । साथै वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक अबुलहैस अन्सारीलगायतका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका थिए । तर पार्टी निकट स्रोतका अनुसार रास्वपाले अन्ततः शम्भु गुप्तालाई नै उम्मेदवार बनाउने निर्णयमा पुगेको छ ।

यद्यपि, रास्वपाको तर्फबाट गुप्ताको उम्मेदवारीबारे औपचारिक घोषणा हुन भने बाँकी नै छ ।

Back to top