×

वीरगञ्ज । भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्र देओलको सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ ।

८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो । उनको पारिवारिक स्रोतले मङ्गलवार बिहान ८:३९ मा निधनको पुष्टि गरेको हो । धर्मेन्द्रको निधनको खबरले बलिउड जगतमा शोकको लहर पैदा गरेको छ ।

धर्मेन्द्रलाई सोमबार श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार, भर्ना पछि पहिलो ७२ घण्टा अत्यन्तै महत्त्वपूर्ण थिए । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित धर्मेन्द्रलाई अक्टोबर ३१ मा नियमित जाँचका लागि नै अस्पताल लगिएको पनि अवस्था बिग्रँदा आइसियुमा सारिएको थियो ।

देओल परिवारको नजिकको स्रोतका अनुसार, उनको छोरीहरू विदेशबाट मुम्बई आएका थिए । सनी देओल हिजो राति अस्पताल बाहिर भावुक देखिएका थिए भने बबी देओलले चलचित्र ‘अल्फा’ को छायाङ्कन छोडेर फर्किएका थिए । धर्मेन्द्रकी पत्नी हेमा मालिनी सोमबार नै अस्पताल पुगेकी थिइन् र सामाजिक सञ्जालमा उनले प्रशंसकहरूको चिन्ताको लागि धन्यवाद दिँदै प्रार्थनाको अपिल गरेकी थिइन् ।

बलिउडका धेरै सेलिब्रेटीहरू पनि सोमबार राति नै अस्पताल पुगेका थिए । शाहरुख खान आफ्ना छोरा आर्यन खानसँगै पुगेका थिए भने सलमान खान, अमीषा पटेल, आर्यन खान, रितेश देशमुख र गोविन्दा जस्ता कलाकारहरू पनि अस्पतालमा देखिएका थिए ।

धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पन्जाबको लुधियानामा भएको थियो । तिन सय भन्दा पनि बढी चलचित्रहरूको काम गरेका उनी बलिउडका ‘ही-म्यान’ भनेर चिनिन्थे । उनका चर्चित फिल्महरूमा ‘शोले’, ‘फूल और पत्थर’, ‘चुपके चुपके’, ‘सत्यकाम’ र ‘धर्मवीर’ पर्छन् । पछिल्लो समय उनी ‘तेरी बातो मे ऐसा उलझा जिया’ मा देखिएका थिए ।

धर्मेन्द्रले राजनीतिमा पनि योगदान दिएका थिए । उनी २००४ मा लोकसभाको सदस्य बनेका थिए । उनको दोस्रो विवाह हेमा मालिनीसँग भएको थियो । दोस्रो विवाहबाट ईशा देओल र अहाना देओल जन्मिएकी थिइन् । पहिलो विवाह प्रकाश कौरसँगबाट सनी देओल र बबी देओल जन्मिएका हुन् । उनी ९०औँ जन्मदिनको एक महिना मात्र टाढा थिए ।

Back to top