वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न पालिकामा अज्ञात कीराले धानबालीमा ठूलो क्षति पुर्याइरहेको छ । पोखरिया नगरपालिका–९, सेमरवारीबर्वाका किसान अमिरका ठाकुरका अनुसार फौजी कीराजस्तै देखिने उक्त कीरा विशेषगरी रातिको समयमा सक्रिय भई धानबाली खाइदिने गरेको छ । दिनभरि बोटमुनि लुकेर बस्ने र राति बालीमा आक्रमण गर्ने प्रवृत्ति देखिएको उनले बताए ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाका अनुसार किसानहरूले देखिरहेको कीरा ‘इयरहेड कटिङ पिलर’ नामक प्रजाति हो । उनका अनुसार हाल पर्सा, बारा र रौतहटका दक्षिणी क्षेत्रका धानबालीमा यस कीराले व्यापक क्षति गरिरहेको छ । थापाले भने, “यो कीरा दिनभरि बोटमुनि बस्छ, राति बाहिर निस्किएर धानका टुसा तथा भुट्टा खाइदिन्छ । समयमै नियन्त्रण नहुँदा ठूलो क्षति हुनसक्छ ।”
कृषि ज्ञान केन्द्रले प्रभावित क्षेत्रका किसानलाई रातिको समयमा एकसाथ कीटनाशक औषधि छर्कन सुझाव दिएको छ । त्यस्तै कीटनाशक प्रयोग भएपछिका २० दिनसम्म बाली नकटाउन आग्रह गरिएको छ ।
छोटो समयमै धान काट्नुपर्ने किसानका लागि भने सुरक्षित उपाय पनि सुझाइएको छ । थापाले भने, “धान काटेर त्यही दिन दौनी गरेमा समस्या हुँदैन, तर काटेर खेतमा राख्दा कीरा फेरि सक्रिय भएर बाली नोक्सान पुर्याउन सक्छ ।”
पर्सामा इयरहेड कटिङ पिलर कीराको प्रकोप मुख्यतः गण्डक नहरदेखि दक्षिणी क्षेत्र जसलाई स्थानीयले बजियान भन्छन्-त्यहाँ सीमित रहेको छ । गण्डक नहरदेखि उत्तर रहेको थरूहट क्षेत्र, जसमा ठोरी, जीराभवानी, पटेर्वासुगौली, पर्सागढी लगायतका स्थान पर्छन्, त्यहाँ यो कीरा नदेखिएको स्थानीय किसानले बताएका छन् ।
यी पालिकामा बढी क्षति, सखुवाप्रसौनी गाउँपालिका, विन्ध्यवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पोखरिया नगरपालिका यी क्षेत्रमा धानबालीमा उल्लेख्य नोक्सानी पुगेको किसानको भनाइ छ ।
कृषि प्राविधिकले तत्काल समन्वयमा आएर सामूहिकरूपमा किरा नियन्त्रण अभियान सञ्चालन नगरे यसले आगामी वर्षको कृषिउत्पादनमा पनि गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।