×

वीरगञ्ज । नेपाली चलचित्रकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आज (सोमबार) आफ्नो जन्मदिनको विशेष अवसरमा प्रशंसकहरूलाई ठूलो सर्प्राइज दिइन् । उनले आफू इन्गेजमेन्ट (सगाई) भएको खुलेको घोषणा गरेकी छिन् ।

साम्राज्ञीले आइतबार एक युवकसँग इन्गेजमेन्ट गरेको र मंगलवार आफ्नो जन्मदिनमा यो खुसी सार्वजनिक गरेकी हुन् । उनले इन्स्टाग्राममा इन्गेजमेन्टका केही सुन्दर तस्बिरहरू पोस्ट गर्दै हीराको चम्किलो औँठी लगाएको हात देखाएकी छिन् ।

तस्बिरमा जीवनसाथीको हात र अनुहार आंशिक रूपमा मात्र देखिएको छ, उनको पूर्ण परिचय भने अझै गोप्य राखिएको छ ।

युवकको नाम वा अन्य विवरण नखुलाए पनि साम्राज्ञीले क्याप्सनमा ‘S & B’ ह्यासट्याग प्रयोग गरेकी छिन् । ‘S & B’ लाई धेरैले उनको र उनको मंगेतरको नामको पहिलो अक्षर भएको अनुमान गरेका छन् । साथै उनले आफ्नो मंगेतरप्रति गहिरो प्रेम व्यक्त गर्दै एउटा मार्मिक कविता पनि लेखेकी छिन्:

मैले प्रार्थना गरेको व्यक्तिका लागि
एक शान्त आत्मा जसले मेरो भाषा बोल्थ्यो
तिमीप्रति कृतज्ञ छु, जुन शब्दले कहिल्यै व्यक्त गर्ने छैन
एउटा जादु जब तिम्रा नयनले मेरा नयन भेट्छ एक मौन वार्ता जसले यसलाई बोल्छ
मेरा यी हात कसिलो गरी समाइदियौ, नफुस्किने गरी फेरि
तिमीले सम्झाइदियौ, मलाई माया गर्न कति सजिलो छ
दयालु, प्रेमी र समझदार बनेर
मेरो मुटुमा बसी सधैँ र सदाका लागि मलाई साथ दियौ

पोस्ट सार्वजनिक भए लगत्तै साम्राज्ञीका प्रशंसक तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामनाको ओइरो लगाएका छन् । धेरैले उनको यो नयाँ जीवनयात्राको लागि शुभकामना व्यक्त गरेका छन् भने केहीले मंगेतरको परिचय चाँडै सार्वजनिक होस् भन्ने आशा पनि व्यक्त गरेका छन् ।

साम्राज्ञीले पछिल्लो समय ‘रातो टिका निधारमा’, ‘ए मेरो हजुर ३’, ‘कायर’ जस्ता चलचित्रबाट दर्शकको मन जिउँदै आएकी छिन् । व्यक्तिगत जीवनलाई सधैँ गोप्य राख्ने उनको शैलीका कारण पनि यो इन्गेजमेन्ट घोषणाले थप कौतुहलता जागेको छ ।

Back to top