×

नयाँ दिल्ली । भारतको प्रसिद्ध मेडिकल संस्था एम्स दिल्लीले गरेको एक नयाँ अध्ययनले युवाहरूमा भइरहेको आकस्मिक मृत्युको कोभिड–१९ भ्याक्सिन वा सङ्क्रमणसँग कुनै ठोस सम्बन्ध नभएको निष्कर्ष निकालेको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को जर्नलमा प्रकाशित उक्त अध्ययनले युवाहरूको मृत्युको मुख्य कारण मुटु सम्बन्धी गम्भीर रोगहरू रहेको औँल्याएको हो।

एम्सको प्याथोलोजी र फरेन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म गरेको 'अटोप्सी' (शव परीक्षण) आधारित अनुसन्धानमा १९ देखि ४५ वर्ष उमेर समूहका युवाहरूको आकस्मिक मृत्युको विश्लेषण गरिएको थियो। अध्ययनका अनुसार झन्डै दुई तिहाइ युवाको मृत्युको कारण मुटुको नसामा ७० प्रतिशतभन्दा बढी 'ब्लकेज' (एथेरोस्क्लेरोटिक कोरोनरी आर्टरी डिजिज) पाइयो। मुटुबाहेक निमोनिया र क्षयरोग जस्ता श्वासप्रश्वास सम्बन्धी समस्या तथा रक्सी र धूम्रपानको लतलाई पनि मृत्युको प्रमुख कारक मानिएको छ।

3c028390-dce3-11f0-afe3-9729680155d8.jpg

अध्ययनका सह-लेखक डा. सुधीर अरावाले कोभिड सङ्क्रमणको इतिहास वा भ्याक्सिनको स्थितिसँग यी मृत्युहरूको कुनै महत्वपूर्ण सम्बन्ध नदेखिएको स्पष्ट पारेका छन्। यद्यपि, केही विशेषज्ञहरूले भने यो अध्ययनमाथि प्रश्न उठाएका छन्। जनस्वास्थ्य विज्ञ डा. अमिताभ बनर्जीले झन्डै २० प्रतिशत मृत्युको कारण खुल्न नसकेको (नेगेटिभ अटोप्सी) उल्लेख गर्दै ती अज्ञात मामिलामा भ्याक्सिनको भूमिकाबारे थप गहिरो अनुसन्धान हुनुपर्ने धारणा राखेका छन्।

कोभिड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले यसअघि नै केही दुर्लभ अवस्थामा 'थ्रोम्बोसिस विथ थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम' (टीटीएस) जस्ता साइड इफेक्ट हुन सक्ने स्वीकार गरिसकेको सन्दर्भमा यो अध्ययनलाई महत्त्वका साथ हेरिएको छ। डिसेम्बर २०२५ सम्मको तथ्याङ्क अनुसार भारतमा मात्रै २ अर्ब २० करोडभन्दा बढी डोज भ्याक्सिन लगाइसकिएको छ भने विश्व स्वास्थ्य संगठनले अझै पनि भ्याक्सिनको सिफारिस गरिरहेको छ।

Back to top