×

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत हुने बताएका छन्।

वीरगञ्जमा आयोजित पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राष्ट्रियताको सवालमा वर्तमान सरकार चुकेको आरोप लगाए। उनले विदेशी नागरिकलाई सरकारी सेवामा प्रवेश गराउने तथा विदेशीलाई वंशजको नागरिकता दिने विषय राष्ट्रिय स्वाधीनतासँग जोडिएको संवेदनशील मुद्दा भएको बताए।

उनले नेपाली पूँजी खुला रूपमा विदेश लैजाने बाटो खोलिएको र नेपालको डाटा विदेशीलाई सुम्पिने विषयसमेत उठिरहेको उल्लेख गर्दै सरकारले राष्ट्रिय हितको संरक्षणमा आवश्यक संवेदनशीलता देखाउन नसकेको टिप्पणी गरे।

अध्यक्ष साहले विशेष रूपमा वैकल्पिक विकास वित्त परिचालन कोषसम्बन्धी कानुनी व्यवस्थाप्रति आपत्ति जनाए। उनका अनुसार प्रमाणीकरणको प्रक्रियामा रहेको विधेयकमा पहिलो पटक बढीमा चार वर्षका लागि योग्यता पुगेको विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकिने व्यवस्था राखिएको छ, जुन स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।

सरकारले मुलुकको आर्थिक विकासका लागि ऋणपत्र, स्वपूँजी कोष तथा अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्ने उद्देश्यसहित उक्त कोष स्थापना गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार कोषको अधिकृत पूँजी एक खर्ब रुपैयाँ र चुक्ता पूँजी २५ अर्ब रुपैयाँ रहने व्यवस्था गरिएको छ भने यसको सञ्चालनका लागि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत रहने प्रावधान राखिएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप पनि लगाए। सेवाग्राहीको लाइन हटाउने घोषणा गरिए पनि सरकारी कार्यालयहरूमा झनै भीड बढेको, करार कर्मचारी हटाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा सरकार आफैं करार भर्नाको केन्द्र बनेको उनको दाबी थियो।

सरकार गठन भएको छोटो समयमै जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र राष्ट्रिय हितको संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।

Back to top