वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा वीरगञ्जका विभिन्न बजार तथा होटलमा अनुगमन गरिएको छ।
अनुगमन टोलीले उत्पादन तथा बिक्री वितरण भइरहेका खाद्य सामग्रीको लेबलिङ, सरसफाइ, गुणस्तर र प्रचलित मापदण्डको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ। विशेषगरी दुग्धजन्य पदार्थको गुणस्तर तथा होटल व्यवसायमा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको विषयमा अध्ययन गरिएको थियो।
अनुगमनमा सहभागी व्यवसायीहरूले भने निरीक्षणका क्रममा भेटिने सामान्य त्रुटिलाई पनि अतिरञ्जित ढंगले प्रचारप्रसार गरी व्यवसायलाई बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सम्बन्धित निकायले दिएको निर्देशनअनुसार मापदण्ड पालना गर्न प्रयास गर्दागर्दै पनि अनावश्यक रूपमा दुःख दिने प्रवृत्ति देखिएको छ।
होटल व्यवसायीहरूको भनाइमा मापदण्ड कार्यान्वयनका नाममा केही अनुगमनकर्ताले सन्तुलित र तथ्यमा आधारित मूल्याङ्कनभन्दा नकारात्मक प्रचारलाई प्राथमिकता दिएको व्यवसायलाई बदनाम गर्ने प्रयास भइरहेको महसुस भएको छ।
केही दिनअघि सम्पन्न अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगतप्रकाश चौधरी, सदस्य श्रवणकुमार साह, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका मधुरेश प्रसाद साह तथा उपभोक्ताको तर्फबाट प्रकाशकुमार शाहको सहभागिता रहेको थियो।
सोही क्रममा आदर्शनगरस्थित पुजन होटलमा पनि अनुगमन गरिएको थियो। होटलका म्यानेजर अफताबले निरीक्षणका क्रममा भेटिएका सामान्य त्रुटिलाई अतिरञ्जित ढंगले प्रचारप्रसार गरी आफ्नो व्यवसायलाई अनावश्यक रूपमा बदनाम गर्ने प्रयास गरिएको गुनासो गरेका छन्। उनका अनुसार सुधार गर्न सकिने सामान्य विषयलाई समेत ठूलो मुद्दा बनाएर प्रस्तुत गरिएकाले व्यवसायमा नकारात्मक असर परेको छ।
सरोकारवालाहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित र प्रभावकारी अनुगमन आवश्यक रहेको स्वीकार गर्दै त्यसलाई निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित बनाउनुपर्नेमा समेत जोड दिएका छन्।