वीरगञ्ज । वीरगञ्ज–४ भगवतीटोलस्थित बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। स्कुलमा अध्ययनरत विद्यार्थीहरूको समूह बिकन सोसल वेलफेयर युनिट को आयोजनामा वीरगञ्ज–१५ स्थित भिस्वाडाँडा क्षेत्रमा व्यापक सरसफाइ गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने अभियान सञ्चालन गरिएको हो।
समाजसेवी तथा बिकन स्कुलका सञ्चालक प्रकाश उपाध्यायको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, स्कुलका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरीसहित शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले फोहोर व्यवस्थापनको जिम्मेवारी सबै नागरिकको साझा दायित्व भएको बताए। “हामीले फोहोर नगर्ने वा फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने हो भने सरसफाइको समस्या नै उत्पन्न हुँदैन,” उनले भने। घर, टोल, गाउँ र शहरलाई सधैं सफा राख्न सके वातावरण स्वच्छ र स्वस्थ रहने तथा त्यसको सकारात्मक प्रभाव व्यक्ति, परिवार र समाज हुँदै समग्र देशमा पर्ने उनको भनाइ थियो।
बिकन स्कुलका सञ्चालक प्रकाश उपाध्यायले सरसफाइ स्वस्थ जीवनको आधार भएकाले सबैले आफ्नो वरपरको वातावरण सफा राख्न हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले विद्यालयमा स्थापना गरिएको बिकन सोसल वेलफेयर युनिट मार्फत सरसफाइ, वृक्षारोपण तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूमा समाज, देश र वातावरणप्रति जिम्मेवारीबोध र सेवाभाव विकास गराउने प्रयास भइरहेको बताए।
त्यसैगरी समाजसेवी श्रवणबहादुर रायमाझी र लालबाबु सिंहले व्यक्तिगत सरसफाइसँगै टोल, गाउँ, सार्वजनिक स्थल, विद्यालय, मठमन्दिर, मस्जिद, गुरुद्वारा, पोखरी र नदीहरूको सरसफाइमा पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। वातावरण संरक्षणसम्बन्धी शिक्षा विद्यालय तहबाटै व्यवहारिक रूपमा सिकाउनुपर्ने उल्लेख गर्दै उनीहरूले बिकन स्कुलका विद्यार्थीहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए।
उनीहरूले सबै नागरिकलाई आफ्नो घर, टोल र आसपासको वातावरण सफा राख्न तथा स्वच्छ र स्वस्थ समाज निर्माणमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए।