×

नेपाल र विशेषगरी हाम्रो तराई-मधेसको क्षेत्रमा जाडोयाम अर्थात् चिसोको मौसम सुरु भएसँगै आँखा अस्पताल र क्लिनिकहरूमा प्राय मोतीबिन्दुको शल्यक्रियाका लागि बिरामीहरूको सङ्ख्या ह्वातै बढ्ने गरेको छ । अधिकांश बिरामीहरूले हामीलाई, “डाक्टर सा'ब, जाडो आयो, अब आँखा देखाउने समय भयो, मोतीबिन्दुको अपरेसन गर्दा ठिक होला” जस्तो जिज्ञासाहरू राख्नु हुन्छ । चिसोको समयमा मोतीबिन्दुको शल्यक्रिया गर्नु उपयुक्त हुन्छ भनेर एउटा विश्वासले हाम्रो समाजमा जार गाडेको छ ।

जाडोको मौसममा पसिना कम आउने, धुलो कम उड्ने र शरीरलाई आराम गर्न सजिलो हुने भएकाले मोतीबिन्दु अपरेसनका लागि सहज समय मानिने गरेको हो । तर, आधुनिक चिकित्सा विज्ञानको युगमा प्रवेश गरिसकेको अवस्थामा पनि केवल मौसम हेरेर निर्णय गर्नु पर्याप्त हुँदैन । सही जानकारीका आधारमा सही समयमा उपचार गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

उमेर बढ्दै जाँदा आँखाभित्रको प्राकृतिक लेन्स धमिलो हुँदै जानु नै मोतीबिन्दु हो । आज पनि धेरै मानिसमा यो रोगको बारेमा डर, अन्योल र पुराना धारणा कायम हुनुका साथै कयौँ अन्यौलताहरू पनि छन् जस्तै कहिले अपरेसन गर्ने ? कस्तो सर्जरी गर्ने ? र कुन लेन्स हाल्दा उपयुक्त होला ? जस्ता विषय बिरामी र सेवाग्राही अलमलमा पर्नुहुन्छ ।

आधुनिक नेत्र चिकित्सा विज्ञानले आज मोतीबिन्दु उपचारलाई अत्यन्त सुरक्षित, सटीक र सहज बनाइसकेको छ । तर सफल उपचारका लागि सही जानकारी हुनु अनिवार्य छ ।

वर्तमान समयमा मोतीबिन्दु सर्जरी कस्तो छ?

पहिला मोतीबिन्दु शल्यक्रिया ठूलो चिरा, टाँका र लामो आरामसँग जोडिन्थ्यो । तर आज अधिकांश अवस्थामा सानो चिराबाट, टाँका नलाग्ने र ५–१० मिनेटमै सकिने आधुनिक प्रविधि प्रयोग गरिन्छ । यसलाई फेँको इमल्सिफिकेशन सर्जरी भनिन्छ । यो प्रविधि अहिले विश्वभर मान्यता प्राप्त “गोल्ड स्ट्यान्डर्ड” हो । यस प्रविधिमा अपरेसनपछि आँखा छिटो निको हुने, सङ्क्रमणको जोखिम कम हुने र दृष्टि छिट्टै फर्किने फाइदा हुन्छ । धेरैजसो बिरामी सोही दिन घर फर्कन सक्छन् ।

मोतीबिन्दु पाकेपछि मात्र अपरेसन” — पुरानो सोच

अत्यावश्यक प्रविधि र उपकरणहरूको अभावमा केही वर्ष अगाडिसम्म मोतीबिन्दु पूरै पाकेपछि मात्र अपरेसन गर्ने चलन थियो । यद्यपि, आजको सन्दर्भमा यो चलन वैज्ञानिक छैन । अपरेसनमा ढिलाइ गर्दा लेन्स कडा हुँदै जाने भएको हुनाले शल्यक्रिया नै कठिन बन्नुका साथै आँखाभित्रको प्रेसर बढ्ने, सुन्निने वा अन्य जटिलता आउने जोखिम पनि बढ्छ । वर्तमान अवस्थामा  मोतीबिन्दुले दैनिक जीवनमा असर पार्न थालेसँगै अपरेसन गर्नु उत्तम मानिन्छ । विश्वभरका आँखा रोग विशेषज्ञ र जानकारहरूले पनि यही सुझाव दिनुहुन्छ ।

लेन्स (IOL) छनोट: सबैभन्दा महत्त्वपूर्ण निर्णय

मोतीबिन्दु सर्जरीमा आँखाभित्र राखिने कृत्रिम लेन्स (Intraocular Lens) ले भविष्यको दृष्टि निर्धारण गर्छ । लेन्स छनोट गर्दा तीन कुरालाई ध्यान दिनुपर्ने हुन्छ । पहिलो बिरामीको जीवनशैली, दोस्रो आँखाको स्वास्थ्य अवस्था र तेस्रो र अन्तिम बिरामीको अपेक्षा ।

मोनोफोकल लेन्सले सामान्यतया टाढाको दृष्टि राम्रो दिए पनि नजिकको कामका लागि चस्मा चाहिन्छ । विशेषगरी राति गाडी चलाउनेहरूका लागि मोनोफोकल लेन्स सुरक्षित, भरपर्दो र बजेटमैत्री विकल्प मानिन्छ ।

मोनोफोकल प्लस लेन्सले टाढासँगै बिचको दूरीका लागि उपयुक्त मानिन्छ ।  यसले कम्प्युटर वा ड्यासबोर्ड हेर्न सजिलो बनाउनुका साथै दैनिक कामकाजी दृष्टि अझ सहज बनाउँछ ।

मल्टिफोकल वा ट्राइफोकल लेन्सले टाढा, बिच र नजिक; तीनै दूरीमा दृष्टि दिन्छन् । यसले चस्माबाट धेरै हदसम्म मुक्ति दिए पनि केही बिरामीमा राति बत्ती वरिपरि घेरा देखिने समस्या हुन सक्छ ।

EDOF (Extended Depth of Focus) लेन्सले निरन्तर दूरीमा स्पष्ट दृष्टि दिन्छ र रातिको चमक कम हुन्छ । सक्रिय जीवनशैली भएका तथा राति ड्राइभ गर्ने व्यक्तिका लागि यो लेन्स उत्कृष्ट विकल्प मानिन्छ ।

लेन्सको गुणस्तर किन महत्त्वपूर्ण छ?

हालका वैज्ञानिक अध्ययनहरूले देखाएका अनुसार लेन्सको मटेरियलले दीर्घकालीन परिणाममा ठूलो भूमिका खेल्छ । हाइड्रोफोबिक लेन्सहरूमा “सेकेन्डरी मोतीबिन्दु” (झिल्ली) कम देखिने भएकाले भविष्यमा लेजर उपचारको आवश्यकता पनि कम हुन्छ ।

आज मोतीबिन्दु सर्जरी केवल धमिलो लेन्स हटाउने प्रक्रिया मात्र नभएर दृष्टिलाई दीर्घकालीन रूपमा सुरक्षित र गुणस्तरीय बनाउने विज्ञानको रूपमा विकसित हुँदै गएको छ । सही समयमा, सही प्रविधिबाट र सही लेन्सको छनोटले जीवनभर स्पष्ट दृष्टि सम्भव बनाउँछ ।

यद्यपि, उपचार र शल्यक्रिया सम्बन्धी अन्तिम निर्णय सधैँ अनुभवी नेत्र चिकित्सकसँग विस्तृत जाँच र छलफलपछि लिनु नै बुद्धिमानी हुन्छ ।

(लेखक नेत्र रोग विशेषज्ञ तथा रेटिना सर्जन हुनुहुन्छ । उहाँसँग वीरगञ्जस्थित सिद्धि आइ केयर सेन्टरमा भेट गर्न सकिन्छ ।)

Back to top