×

केही दशकअघिसम्म मधुमेहलाई ‘पश्चिमी मुलुकको रोग’ मानिन्थ्यो । फास्ट–फूड, व्यस्त जीवनशैली र अत्यधिक सुविधा सम्पन्न जीवनका कारण मात्र मधुमेह रोग हुन्छ भन्ने धारणा प्रचलित थियो । तर पछिल्लो समय यस्तो धारणा पूर्ण रूपमा गलत साबित भएको छ । अहिले आएर दक्षिण एशिया नै मधुमेहको नयाँ केन्द्र बन्दै गएको छ र नेपाल पनि यसबाट अछुतो छैन ।

आज हाम्रा अस्पतालहरूमा आउने प्रत्येक दसजना बिरामीमध्ये करिब दुई जनामा मधुमेहको समस्या पाइन्छ । उनीहरूमध्ये धेरैजसोले यसको पहिलो संकेत आँखाबाटै पाउँछन् । आजको लेखमा हामी मधुमेहले आँखामा पार्ने प्रभाव, विशेषगरी डायबेटिक रेटिनोप्याथीको बारेमा चर्चा गर्नेछौँ र यसबाट बच्ने व्यावहारिक उपायहरू सुझाउनेछौँ ।

आँखा: शरीरको स्वास्थ्यको ‘खुला झ्याल’ 

हाम्रो शरीरको सबैभन्दा सानो तर महत्वपूर्ण अङ्ग आँखाले समग्र शरीरको स्वास्थ्य अवस्थालाई प्रतिबिम्बित गर्छ । सबैभन्दा रोचक तथ्य के भने मेसिनको सहायताले आँखाको भित्री भाग अवलोकन गर्दा हामी वास्तवमा मस्तिष्कको एक हिस्सा अर्थात् अप्टिक नर्भलाई प्रत्यक्ष रूपमा हेर्न सक्छौं । यो मानव शरीरको त्यस्तो अनुपम अङ्ग हो, जसलाई कुनै शल्यक्रिया, महँगा सीटी स्क्यान वा एमआरआई जस्ता जाँचबिना पनि निरीक्षण गर्न सकिन्छ । साथै, आँखाभित्रका सूक्ष्म रक्तनलीहरू पनि स्पष्ट रूपमा देखिन्छन् जसले शरीर र मस्तिष्क दुवैको स्वास्थ्य स्थिति बारे सङ्केत प्रदान गर्छन्। यिनै कारणहरूले आँखालाई “शरीरको झ्याल” भनिन्छ ।

शरीरका धेरै रोगहरू जस्तै मधुमेह होस्, उच्च रक्तचाप होस्, वा स्नायु सम्बन्धी समस्या सबैको कुनै न कुनै प्रभाव आँखामा देखिन्छ । त्यसैले, केवल आँखाको जाँचबाट पनि शरीरमा लुकेका धेरै रोगहरूको पत्ता लगाउन सकिन्छ । आँखाको जाँच केवल दृष्टि परीक्षण नभएर सम्पूर्ण शरीरको स्वास्थ्यको “खुला झ्याल” हो ।

मधुमेहजन्य रेटिना रोग: नदेखिने तर अन्धोपन ल्याउने खतरा

मधुमेहले आँखामा ल्याउने सबैभन्दा गम्भीर समस्या हो मधुमेहजन्य रेटिना रोग । आँखाका रक्तनलीहरू अति साना र नाजुक हुन्छन् । त्यसैले रक्तमा चिनीको मात्रा घटबढ हुँदा आँखाका रक्तनलीहरूमा तुरुन्त प्रभाव पर्छ । मधुमेहका कारण आँखाका रक्तनलीहरूमा सूजन, चुहावट र बन्द हुने समस्या आउँदा रेटिना अर्थात् आँखाको पर्दामा असर पार्छ । प्राथमिक चरणमा कुनै लक्षण नदेखिए पनि रेटिनामा सूक्ष्म रक्तनलीहरू फुट्ने, रक्तस्राव हुने, वा नयाँ अस्वस्थ रक्तनलीहरू बन्ने चुनौती हुन्छ । यस्ता समस्याहरूले विस्तारै दृष्टि धमिलो पार्दै जाने र अन्ततः स्थायी अन्धोपनसम्म पुर्‍याउन सक्ने जोखिम हुन्छ ।

चिन्ताजनक कुरा के छ भने दृष्टि नघटेसम्म अधिकांश बिरामीले कुनै फरक महसुस नै गर्दैनन् । धेरैजसो अवस्थामा बिरामीले थाहा पाउने बेलासम्म अपरिवर्तनीय क्षति भइसकेको हुन्छ । आँखा रोगका विशेषज्ञहरू, विशेषगरी रेटिना विशेषज्ञले लक्षण देखिनु अघि नै रोग पत्ता लगाउन सक्षम हुन्छन् । उनीहरूले आँखाभित्रका स-साना परिवर्तनहरू बुझेर रोगको सुरुवाती चरणमै निदान गर्दै दृष्टि जोगाउन र समयमै उपचार सुरु गर्न सहयोग पुर्याउन सक्छन् । त्यसैले, मधुमेह रोग लागेको छ अथवा लक्षण देखिएको खण्डमा वर्षमा कम्तीमा दुई पटक आँखाको जाँच अनिवार्य रूप्मे गराउनु पर्दछ ।

आँखाले दिने ‘पहिलो चेतावनी’

अनेक अनुसन्धानका अनुसार, रेटिनामा देखिने परिवर्तनहरू शरीरका अन्य अंगहरूमा (जस्तै मिर्गौला, मुटु वा रक्तनलीहरूमा) क्षति हुनुभन्दा पहिले नै देखा पर्छन् । यसैले, आँखाको जाँच केवल दृष्टि बचाउनका लागि मात्र नभइ शरीरका अन्य अङ्गहरूमा हुने समस्याको बारेमा पनि संकेत दिन्छ ।

मधुमेह नियन्त्रण गर्न र यसको असर घटाउन जीवनशैली सुधार नै पहिलो र उत्कृष्ट उपचार हो । यद्यपि, निम्न उपायहरू अपनाए हामी मधुमेहलाई नियन्त्रण गर्दै रोगी हुनबाट सहजै जोगिन सक्छौँ :

* सन्तुलित आहार: हरिया सागसब्जी, गाजर, स्याउ, कागती वर्गका फलफूल, माछा, रेशायुक्त अन्न खानुहोस्।

* चिनी र प्रशोधित परिकारबाट टाढा रहनुहोस्।

* ग्लाइकोसिलेटेड हेमोग्लोबिन स्तर ७ प्रतिशत भन्दा कम राख्ने प्रयास गर्नुहोस्।

* रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण राख्नुहोस्, किनभने यीले रेटिनाको क्षति तीव्र बनाउँछन्।

* नियमित व्यायाम र योगाभ्यास: हरेक दिन कम्तीमा ३० मिनेट हिँड्ने बानी बसाल्नुहोस्।

* तनाव घटाउने अभ्यास: ध्यान, संगीत, परिवारसँग समय बिताउने जस्ता उपायहरू मानसिक सन्तुलनका लागि उपयोगी हुन्छन्।

आधुनिक उपचार विधिहरू

अर्कोतर्फ रोगले रेटिनामा असर गरिसकेको भएपनि निराश हुनुपर्दैन । वर्तमान अवस्थामा उपलब्ध विभिन्न विधिहरूले दृष्टि स्थिर राख्न वा सुधार गर्न सहयोग गर्छन्, उदाहरणका लागि:

* लेजर उपचार

* इन्जेक्सन (रक्तनली वृद्धि रोकाउने औषधि)

* आँखाको भित्री भाग हटाउने शल्यक्रिया

तर उपचारको सफलता समयमै रोग पत्ता लाग्ने कुरामा निर्भर हुन्छ । ढिलो उपचार सुरु गर्दा बढी खर्च लाग्नुका साथै दृष्टि फर्कने संभावना पनि घट्दै जान्छ ।

हाम्रो आँखा, हाम्रो जिम्मेवारी

मधुमेह जीवनभर साथ रहने रोगको रूपमा परिभाषित भए पनि यसको नियन्त्रण हाम्रो हातमा छ । नियमित चिनी परीक्षण, स्वस्थ जीवनशैली, र आँखाको समयमै जाँचले दृष्टि गुम्नबाट हजारौं मानिसहरूलाई बचाउन सक्छ । अन्धोपनले केवल दृष्टि मात्र होइन, आत्मविश्वास, रोजगार र पारिवारिक जीवनमा गहिरो असर पार्छ । हामीले हाम्रो दृष्टि जोगायौं भने, जीवनका रङ्गहरू जोगिन्छन् ।

मधुमेह पत्ता लागेको खण्डमा आँखा परीक्षणलाई प्राथमिकता दिन आवश्यक छ । त्यस्तै लक्षण नदेखिँदा पनि प्रत्येक ३–६ महिनामा रेटिना विशेषज्ञलाई आँखा देखाउने बानी बसाल्नु पर्दछ भने स्वस्थ आहार, नियमित व्यायाम र सकारात्मक सोचको विकास गर्दै आफ्नो दृष्टि र जीवन दुबै बचाउन सकिन्छ ।

“आँखाको जाँच केवल दृष्टिका लागि होइन, जीवनको भविष्यका लागि हो ।

आजै आफ्नो आँखाको परीक्षण गराऔँ, मधुमेह नियन्त्रण गरौँ, र उज्यालो भविष्यतिर अगाडि बढौँ ।”

(लेखक नेत्र रोग विशेषज्ञ  तथा रेटिना सर्जन हुनुहुन्छ । उहाँसँग वीरगञ्जस्थित सिद्धि आइ केयर सेन्टरमा भेट गर्न सकिन्छ ।)

Back to top