यदि तपाईंलाई हल्का काम गर्नासाथ, केही सिँढी चढ्नासाथ वा छिटो हिँड्नासाथ तुरुन्तै सास फुल्ने अर्थात् स्याँस्याँ बढ्छ? त्यसो हो भने यो शरीरमा एउटा भिटामिनको कमीको कारण भइरहेको हुन सक्छ।
सास फुल्ने प्रमुख तीन कारण
धेरै मानिसले गुनासो गर्छन्, मलाई छिट्टै सास फुल्छ वा बिना मेहनत पनि सास लिन गाह्रो हुन्छ।
सामान्यतया यस्तो तब हुन्छ जब हामी दौडन्छौं, व्यायाम गर्छौं वा भारी सामान उठाउँछौं। तर, कतिपय अवस्थामा शरीरभित्र केही समस्या हुँदा पनि यस्तो हुन सक्छ।
आम कारणहरूमा एलर्जी, संक्रमण, घाँटी सुन्निनु, टन्सिल, दम, ब्रङ्काइटिस वा फोक्सोसम्बन्धी अन्य रोग समावेश हुन्छन्। तर के तपाईंलाई थाहा छ, यसको पछाडि भिटामिनको कमी पनि कारण हुन सक्छ? हो, विशेष गरी भिटामिन डीको कमीले यस्तो समस्या बढाउँछ।
किन आवश्यक छ भिटामिन डी?
भिटामिन डीले केवल हाड बलियो बनाउने मात्र होइन, फोक्सोलाई राम्रोसँग काम गर्न पनि सहयोग गर्छ। यसको कमी हुँदा फोक्सोको कार्यक्षमता कमजोर हुन्छ। जसका कारण- सास फेर्न कठिनाई हुन्छ । पटक–पटक चक्कर लाग्छ । छाती भारी हुन्छ । छिट्टै थकान हुने समस्या देखिन्छ।
यदि लामो समयसम्म यसको कमी रह्यो भने दम र ब्रङ्काइटिस जस्ता रोगको खतरा बढ्छ।
भिटामिन डीको कमी कसरी पूरा गर्ने?
सबैभन्दा सजिलो र प्राकृतिक उपाय घाम हो। बिहानको समयमा १०–१५ मिनेटसम्म घाममा बस्दा शरीरलाई पर्याप्त भिटामिन डी प्राप्त हुन्छ।
त्यसैगरी, आहारमा दूध र दुग्धजन्य पदार्थ (दही, पनीर) समावेश गर्नुपर्छ । अण्डा, माछा र मासु, सुन्तला लगायतका खानेकुराले पनि भिटामिन डीको आपूर्ति हुन्छ ।
यी नियमित खानाले शरीरलाई आवश्यक पोषण मिल्छ र बिस्तारै साससम्बन्धी समस्या पनि कम हुन्छ।
सप्लिमेन्ट कहिले लिने?
यदि घाम र खानपान मात्रले कमी पूरा भएन भने डाक्टरको सल्लाहमा भिटामिन डी सप्लिमेन्ट लिन सकिन्छ। तर, डाक्टरको सल्लाहबिनै सप्लिमेन्ट वा औषधि लिनु हानिकारक हुन सक्छ।
ध्यान दिनुपर्ने कुरा
यो सत्य हो कि भिटामिन डीको कमीले सास फुल्ने समस्या ल्याउन सक्छ। तर, सधैं यही कारण हुँदैन। यदि तपाईंलाई पटक–पटक सास फुल्ने समस्या भइरहेको छ भने यसलाई हल्का रूपमा नलिनुहोस्।
यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ। त्यसैले समयमै डाक्टरलाई देखाउनु र उचित उपचार गर्नु उत्तम हुन्छ।