×

मुम्बई । बलिउड फिल्म निर्देशक साजिद खान सुटिङ सेटमा भएको एउटा दुर्घटनामा परेर अस्पताल भर्ना भएका छन्। एकता कपुरको प्रोडक्सन हाउसको सेटमा छायाङ्कनका क्रममा लडेर उनको खुट्टा भाँचिएको हो। दुर्घटना लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार चिकित्सकहरूले आइतबार साजिदको खुट्टाको शल्यक्रिया सम्पन्न गरेका छन्। शल्यक्रियापछि उनको अवस्था अहिले स्थिर रहेको र स्वास्थ्यमा सुधार भइरहेको परिवारले जनाएको छ। उनकी दिदी एवं प्रख्यात फिल्ममेकर फराह खानले साजिदको स्वास्थ्यबारे जानकारी दिँदै शल्यक्रिया सफल भएको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएकी छन्।

लामो समयदेखि पर्दा पछाडि रहेका साजिद नयाँ प्रोजेक्टको तयारीमा रहेकै बेला यो दुर्घटना भएको हो। सन् २००६ मा 'डरना जरुरी है' बाट निर्देशन यात्रा सुरु गरेका साजिदले हे बेबी, हाउसफुल र हाउसफुल २ जस्ता सफल कमेडी फिल्महरू दिएका छन्। 

तर, पछि आएका हिम्मतवाला र हमशकल्सजस्ता फिल्महरूले भने बक्स अफिसमा निकै खराब प्रदर्शन गरेका थिए। निर्देशनका साथै उनी झुट बोले कौवा काटे, मै हुँ ना, मुझसे शादी करोगी र ह्याप्पी न्यु इयरजस्ता फिल्ममा अभिनेताका रूपमा पनि देखिएका छन्।

Back to top