वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।
देशकै ठुलो राजनीतिक दल नेपाली काँग्रेसले पर्साका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटलाई लिएर आन्तरिक गतिविधि तीव्र पारेको छ । यद्यपि दलहरूले औपचारिक रूपमा चुनाव केन्द्रित कार्यक्रम सार्वजनिक नगरे पनि कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार र राजनीतिक छलफललाई तीव्रता दिएको देखिन्छ ।
पर्सा जिल्ला नेपाली काँग्रेसका लागि रणनीतिक महत्त्वको क्षेत्र हो । यहाँका चार निर्वाचन क्षेत्र (पर्सा–१, २, ३ र ४) मा पार्टीभित्र टिकटका लागि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसअघि क्षेत्रीय समितिहरूले उम्मेदवारका नाम सिफारिस गरेका थिए तर पार्टीले नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फुकुवा गरेपछि थप नामहरू थपिने र पुराना सिफारिसमा फेरबदल हुने सम्भावना बलियो बनेको छ । यसले असन्तुष्ट नेताहरूलाई अन्य पदमा व्यवस्थापन गर्ने अवसर पनि खोलिदिएको काँग्रेस स्रोतहरू बताउँछन् ।
पर्सा क्षेत्र नं. १ मा संविधानसभा सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य अनिल रुंगटाको नाम प्रमुख रूपमा चर्चामा छ । क्षेत्रीय समितिले उनको एकल नाम उम्मेदवारका रूपमा सिफारिस पनि गरेको छ । यद्यपि, पार्टीबाट कारबाहीमा परेका अजय द्विवेदीमाथि पनि कारबाही फुकुवा भएपछि उनी टिकट दाबी गर्न काठमाडौँ केन्द्रित दौडधुपमा लागेको स्रोतको दाबी छ ।
काँग्रेसका एक नेताका अनुसार पर्सा – १ मा पुराना र कारबाही फुकुवा भएका नेताबिच कडा टक्कर हुने देखिन्छ । यसले पार्टीभित्र एकता कायम राख्न चुनौती थपेको छ ।
पर्सा क्षेत्र नं. २ मा अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यबिच मुख्य प्रतिस्पर्धा चलिरहेको छ । काँग्रेस स्रोतहरूका अनुसार केन्द्रीय नेतृत्वको झुकाव चौरसियातर्फ देखिएको छ भने अमात्यलाई राष्ट्रिय सभातर्फ व्यवस्थापन गर्ने सोच बनाइएको छ । पार्टीको यो रणनीतिले मधेस केन्द्रित मतलाई मजबुत बनाउने लक्ष्य राखिएको विश्लेषकहरू बताउँछन् ।
पर्सा क्षेत्र नं. ३ मा सबैभन्दा रोचक प्रतिस्पर्धा हुने अनुमान छ । सुरेन्द्र चौधरीको नाम यसअघि चर्चामा आए पनि केन्द्रीय नेतृत्वले नयाँ अनुहारलाई प्राथमिकता दिने सोच बनाएको स्रोतहरूको दाबी छ ।
विशेष गरी ‘जेन–जी आन्दोलन’को पृष्ठभूमिमा युवा पुस्ताबाट नयाँ उम्मेदवार उतार्ने सम्भावना बलियो छ । पार्टी सरकारमा पुग्यो भने चौधरीलाई अमेरिका वा अन्य ठुलो देशको राजदूत बनाउने छलफल पनि पार्टीभित्र भइरहेको बताइन्छ । यो कदमले पुरानो पुस्तालाई सम्मान दिँदै नयाँलाई अवसर दिने सन्तुलन खोज्ने प्रयास देखिन्छ ।
पर्सा क्षेत्र नं. ४ मा रमेश रिजाललाई नै पार्टीले निरन्तरता दिने देखिएको छ । रिजाल विगत ४० वर्षदेखि यस क्षेत्रबाट उम्मेदवार बन्दै चार पटक सांसद र मन्त्री समेत बनिसकेका छन् र पार्टी नेतृत्वले उनलाई नै दोहोर्याउने मनस्थितिमा देखिएको छ । पर्सा – ४ मा प्रतिस्पर्धा अन्यको तुलनामा कम चर्किने अनुमान गरिएको छ ।
फागुन २१ को निर्वाचन ‘जेन–जी आन्दोलन’पछि घोषित भएकाले युवा मतदाताको भूमिका निर्णायक हुने देखिन्छ । नेपाली काँग्रेसले पर्सा जस्तो मधेस केन्द्रित जिल्लामा नयाँ अनुहारलाई प्राथमिकता दिएर युवा आकाङ्क्षालाई सम्बोधन गर्ने प्रयास गर्न सक्छ । तर पुराना नेताहरूको असन्तुष्टि र कारबाही फुकुवापछि थपिने दाबेदारले टिकट वितरणलाई जटिल बनाउने जोखिम छ ।
पार्टीले यसअघि सिफारिस गरिएका नाममा फेरबदल गरेर सन्तुलन मिलाउने सम्भावना छ । निर्वाचन नजिकिँदै जाँदा पर्सामा काँग्रेसभित्रको यो आन्तरिक प्रतिस्पर्धा अझ चर्किने निश्चित छ । अन्य दलहरूको गतिविधि पनि बढ्दै गएकाले काँग्रेसले सङ्गठनलाई मजबुत बनाई एकताबद्ध रूपमा मैदानमा उत्रनु आवश्यक देखिन्छ ।