×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले पछिल्ला दिनहरूमा कार्यालयमा काम गर्ने वातावरण सहज बन्दै गएको बताएका छन् ।

कागजात किर्ते प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएपछि नगरप्रमुख राजेशमान सिंह निलम्बनमा परेसँगै प्रशासनिक कामकाजमा रहेको दबाब कम भएको र नियमअनुसार स्वतन्त्र रूपमा काम गर्न सक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

महानगरका एक कर्मचारीका अनुसार यसअघि सामान्य प्रशासनिक कामसमेत राजनीतिक तथा व्यक्तिगत दबाबका बिच गर्नुपर्ने अवस्था थियो । उनका अनुसार विभिन्न शाखाहरूमा नगरप्रमुख निकट मानिएका व्यक्तिहरूसँग समन्वय नगरी काम गर्दा गाली खाने, जिम्मेवारी परिवर्तन हुने वा अन्य प्रकारको दबाब खेप्नुपर्ने अवस्था रहँदै आएको थियो ।

“पछिल्ला केही दिनयता भने नियम र प्रक्रियाअनुसार स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण बनेको महसुस गरेका छौँ,” ती कर्मचारीले भने ।

कर्मचारीहरूको भनाइअनुसार महानगरमा लामो अनुभव र योग्यता भएका कर्मचारीहरू हुँदाहुँदै पनि विगतमा उनीहरूलाई जिम्मेवारीविहीन बनाउँदै वडा कार्यालय वा जगेडामा राखिएको थियो । यसको विपरीत अनुभव र योग्यता कम भएका व्यक्तिहरूलाई महत्त्वपूर्ण शाखाहरूको जिम्मेवारी दिइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

महानगरभित्र प्रशासनिक निर्णयमा अनावश्यक हस्तक्षेप हुने गरेको गुनासो पनि कर्मचारीहरूले गर्दै आएका थिए । नगरप्रमुख निलम्बनमा परेपछि उनका निकट व्यक्तिहरूको प्रत्यक्ष प्रभाव कम भएको र कर्मचारीहरूले ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न थालेको उनीहरूको दाबी छ ।

आर्थिक प्रशासनमा समेत विगतमा विभिन्न प्रकारका दबाब रहने गरेको कर्मचारीहरूको आरोप छ । नियमअनुसार भुक्तानी गर्न मिल्ने फाइलसमेत रोक्ने, आवश्यक प्रक्रिया पूरा नभएका फाइललाई अघि बढाउन दबाब दिने तथा सबै फाइलको छुट्टै प्रतिलिपि नगरप्रमुखको सचिवालयमा पठाएर त्यहाँबाट अध्ययन भएपछि मात्र भुक्तानी गर्ने अभ्यास रहेको उनीहरूको भनाइ छ ।

कर्मचारीहरूले अब महानगरमा कानुनी प्रक्रिया, प्रशासनिक नियम र संस्थागत प्रणालीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने वातावरण बिस्तारै स्थापित हुँदै गएको बताएका छन् । प्रशासनिक निर्णयमा कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्ने अवसर दिइए सेवा प्रवाह अझ प्रभावकारी, पारदर्शी र जनमुखी बन्ने उनीहरूको विश्वास छ ।

Back to top