बारा । एउटै व्यक्तिले नेपाल र भारत दुवै देशको नागरिकको हैसियतमा सेवा, सुविधा तथा अधिकार उपभोग गर्दै आएको गम्भीर तथ्य सार्वजनिक भएको छ। बारा जिल्लाको गढीमाई नगरपालिका–१ का स्थायी बासिन्दा भनेर चिनिएका प्रवेश कुमार क्षेत्री वास्तवमा भारतीय नागरिक रहेको खुलासा भएको हो।
प्राप्त जानकारीअनुसार प्रवेशले नेपालमा क्षेत्री थर प्रयोग गरी नेपाली नागरिकता लिएका छन् भने भारतको उत्तरप्रदेश राज्य अन्तर्गत वाराणसी जिल्ला, भगवानपुर आंशिक क्षेत्रबाट प्रवेश आचार्य नाममा भारतीय मतदाता परिचयपत्र र राशन कार्डसमेत बनाएका छन्। यसरी उनले दुई देशको नागरिकसरह अधिकार र सेवा–सुविधा उपभोग गर्दै आएको तथ्य बाहिर आएको हो।
स्थानीय स्रोतका अनुसार भारतीय नागरिक प्रवेश आचार्यले आफ्ना नातागोताको सहयोगमा नेपालमा नागरिकता प्राप्त गरी विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया दुरुपयोग गर्ने गतिविधिमा संलग्न हुँदै आएका छन्। उनी निर्दोष व्यक्तिहरूमाथि मुद्दा हाल्ने, अधिकारको दुरुपयोग गर्दै दबाब सिर्जना गर्ने जस्ता क्रियाकलापमा सक्रिय रहेको स्थानीयको आरोप छ।
दुई देशको नागरिकता तथा परिचयपत्र प्रयोग गरी सेवा सुविधा लिएको विषयले नागरिकता प्रणालीको दुरुपयोग, राष्ट्रिय सुरक्षाको संवेदनशीलता र प्रशासनिक कमजोरीलाई गम्भीर प्रश्न उठाएको छ। यस विषयमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।
प्रकरण सार्वजनिक भएपछि यसबारे गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता देखिएको छ।