×

वीरगञ्ज । भोजपुरी लोक तथा आधुनिक संगीतकी चर्चित गायिका कल्पना पटवारी मधेश साहित्य महोत्सव २०२६ मा सहभागी हुन वीरगञ्ज आउने भएकी छन्। यही माघ १५, १६ र १७ गते आयोजना हुने महोत्सवको सांगीतिक सन्ध्यामा उनले विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

लोकगीतलाई आधुनिक संगीतसँग संयोजन गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन सफल गायिका कल्पना पटवारी भोजपुरी संगीत क्षेत्रकी एक स्थापित र लोकप्रिय नाम हुन्। उनका गीतहरू नेपाल र भारतमा मात्र होइन, विश्वभर रहेका भोजपुरी भाषी समुदायबीच व्यापक रूपमा रुचाइएका छन्। उनको सहभागितासँगै महोत्सवप्रति दर्शक तथा संगीतप्रेमीहरूमा थप उत्साह र आकर्षण बढेको आयोजकको भनाइ छ।

उत्कर्ष नेपालद्वारा आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ माघ १५, १६ र १७ गते (जनवरी २९–३१, २०२६) वीरगञ्जस्थित मधेश विश्वविद्यालयको परिसरमा आयोजना हुँदैछ। आयोजकका अनुसार महोत्सवको सांगीतिक सन्ध्यामा कल्पना पटवारीको प्रस्तुति प्रमुख आकर्षणमध्ये एक रहनेछ।

आयोजक संस्थाका प्रतिनिधि जय साहका अनुसार कल्पना पटवारीको प्रस्तुतिले मधेशको लोक–संस्कृति, संगीत र सामूहिक उत्सवको भावनालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। उनले साहित्य, कला, संस्कृति र संगीतको संगमका रूपमा आयोजना हुँदै आएको महोत्सवलाई यस वर्ष अझ व्यापक, समावेशी र जनमुखी बनाउने तयारी गरिएको जानकारी दिनुभयो।

मधेश साहित्य महोत्सवले स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्रष्टा, कलाकार र सांस्कृतिक व्यक्तित्वलाई एकै थलोमा ल्याउँदै मधेशको पहिचान, भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Back to top