×

बारा । बारा जिल्लामा कार्यरत एक प्रहरी अधिकृतमाथि लामो समयदेखि अवैध असूलीमा संलग्न रहेको आरोप लागेको छ । प्रहरी जवानबाट सेवा शुरू गरेका सई दीपक बस्नेतले एउटै जिल्लामा लामो समय कार्यरत रहँदा प्रभाव जमाउँदै असूली धन्दा चलाएको आरोप स्थानीय स्रोतहरूले लगाएका छन् ।

आरोप अनुसार सई बस्नेत करिब दुई दशकसम्म पथलैया ट्राफिकमा कार्यरत रहँदा व्यवसायी तथा सवारी चालकसँग नजिकको सम्बन्ध बनाउँदै आर्थिक असूली गर्ने गतिविधिमा संलग्न रहेका थिए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान (क्राइम) टोलीको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थानीय स्रोतहरूको दाबी अनुसार बस्नेतले विभिन्न स्थानमा प्रहरी कर्मचारीलाई ‘घुमुवा’को रूपमा खटाई मटिअर्वा, सिमरा, अमलेखगञ्ज लगायतका क्षेत्रमा अवैध असूली गराइरहेका छन् । यसमा प्रहरी सहायक हवल्दार, हवल्दार तथा जवानहरू समेत प्रयोग गरिएको आरोप लगाइएको छ ।

तर यी सबै आरोपहरूको आधिकारिक पुष्टि भने भइसकेको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय बारासँग प्रतिक्रिया लिन खोज्दा समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेन ।

स्थानीय नागरिक तथा सरोकारवालाहरूले आरोप गम्भीर रहेकाले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । यदि आरोप सत्य भए कडा कारबाही र गलत भए आरोपको खण्डनसहित सत्य जानकारी सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Back to top