×

मौसम परिवर्तनसँगै डिप्रेसनको जोखिम पनि बढ्ने गर्दछ। यसै सन्दर्भमा, विशेषज्ञहरू ‘सिजनल अफेक्टिभ डिसअर्डर’ (SAD) भन्ने मानसिक अवस्थालाई गम्भीरताका साथ लिन सुझाव दिन्छन्। यो डिप्रेसनको यस्तो प्रकार हो, जुन वर्षको एउटै समयमा देखिने र पुनः दोहोरिने गर्छ।

विशेषगरी गर्मीको अन्त्य र जाडोको सुरुवातमा, SAD को प्रभाव तीव्र हुने गरेको पाइन्छ। अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार, सूर्यको प्रकाशको कमीले दिमागमा सेरोटोनिन नामक न्यूरोट्रान्समिटरको असन्तुलन ल्याउँछ, जसले मुडलाई प्रभावित पारेर डिप्रेसन उत्पन्न गराउँछ।

कसलाई बढी असर गर्छ?

घामको किरण कम पर्ने क्षेत्रहरूमा बसोबास गर्ने व्यक्तिहरूमा SAD को जोखिम उच्च हुन्छ। त्यस्तै, पहिले नै डिप्रेसनको समस्या भएका वा बायोपोलार डिसअर्डर भएका व्यक्तिहरू पनि विशेष रूपले प्रभावित हुन्छन्।

लक्षण र जोखिम

मुड स्विङ (मनको उतार-चढाव)

अत्यधिक थकान वा सुस्तता

निद्रामा गडबडी

रुचि गुम्नु वा एक्लोपन महसुस हुनु

सामाजिक गतिविधिबाट टाढिनु

कसरी बच्ने?

विशेषज्ञहरूका अनुसार, SAD बाट पूर्ण रूपमा छुटकारा पाउन नसकिए पनि विभिन्न उपायबाट यसको असर कम गर्न सकिन्छ।

नियमित व्यायाम: शरीर सक्रिय राख्नाले मानसिक स्फूर्ति बढ्छ।

स्वस्थ खानपान: सन्तुलित आहारले शरीर र दिमागमा सकारात्मक प्रभाव पार्छ।

पर्याप्त निद्रा:पर्याप्त सुत्ने बानीले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

दिनमा घाममा बस्ने: कम्तीमा ३०–४० मिनेट घाममा बस्नाले भिटामिन डीको कमी हट्छ।

दिमाग व्यस्त राख्ने: नयाँ गतिविधि वा रुचिका कामहरूमा लाग्दा मन विचलित हुँदैन।

गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक हुन्छ। SAD नियन्त्रणका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी र औषधि उपचार समेत प्रभावकारी मानिन्छ।

मौसम परिवर्तनलाई सामान्य प्रक्रिया माने पनि यसले ल्याउने मानसिक असरलाई बेवास्ता गर्नु हुँदैन। मानसिक स्वास्थ्यप्रति सचेत रही समयमै उपाय अपनाउँदा सिजनल डिप्रेसनबाट बच्न सकिन्छ।

Back to top