वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ । बुधवार वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाले सार्वजनिक रूपमा रुङटालाई समर्थन जनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले स्थानीय विकासलाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे । उनले युवाहरूलाई स्वदेशमै अवसर उपलब्ध गराउन सीपमूलक तालिम, साना तथा मझौला उद्यम प्रवर्द्धन र औद्योगिक वातावरण सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “अबको नेतृत्व परिणाममुखी हुनुपर्छ । युवालाई बिदेसिन बाध्य बनाउने अवस्था अन्त्य गरी उत्पादन, उद्यम र रोजगारीमा आधारित अर्थतन्त्र निर्माण गर्नु हाम्रो लक्ष्य हो ।”
रुङटाले नेपाली काँग्रेसको नीति अनुरूप सुशासन, पारदर्शिता र जबाफदेहितालाई केन्द्रमा राख्दै काम गर्ने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक न्याय, महिला तथा दलित समुदायको सशक्तीकरण, किसानमैत्री कृषि नीति र सुलभ स्वास्थ्य सेवामा विशेष ध्यान दिने उल्लेख गरे ।
काँग्रेसको घोषणापत्रअनुसार स्थानीय तहसँग सहकार्य गरी पूर्वाधार विकास, सुरक्षित खानेपानी, सडक स्तरोन्नति, शिक्षा संस्थाको गुणस्तर सुधार, डिजिटल सेवा विस्तार तथा स्वास्थ्य चौकीहरूको सुदृढीकरणमा जोड दिइने रुङटाले बताए । साथै, युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न सहुलियत कर्जा र तालिम कार्यक्रम ल्याइने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा ‘रुख’ चुनाव चिन्हमा मतदान गरी अनिल रुङटालाई विजयी बनाउन एकजुट हुनुपर्ने धारणा राखे ।