×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२७ कुहडीमा बुधवार नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रमोद साह तेलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि आफ्नो योजना र प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

भेलाका क्रममा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालका सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । रास्वपाका वडा नं. २७ का वरिष्ठ नेता तथा पूर्व वडा अध्यक्ष बुनी प्रसाद यादवसहित दर्जनौँ नेताहरूले एमाले रोजेका हुन् ।

नव प्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य विजय कुमार सरावगी, मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, उम्मेदवार रिमा यादव, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवलगायत नेताहरूले फुलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा यादवले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै महिलालाई घरेलु तथा व्यावसायिक तालिम प्रदान गर्ने योजना रहेको बताइन् । सिलाई, कढाई, मस्यौरा बनाउने तथा हाते कढाईजस्ता सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने र आयआर्जनमा जोड दिने उनले उल्लेख गरिन् । साथै, प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक एमबिबिएस डाक्टरको व्यवस्था गर्ने र सुलभ रूपमा औषधि उपलब्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको पनि उनले स्पष्ट पारिन् ।

महिला सशक्तीकरणको सन्दर्भमा उनले भनिन्, “महिला अब घरको चुलो–चौकामा मात्र सीमित छैनन्, हरेक क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ । अवसर पाएमा महिला पनि काम गरेर देखाउने क्षमता राख्छिन् । अब समय आएको छ, महिलालाई जिताएर देखाउने ।”

विशेष अतिथि समानुपातिक उम्मेदवार बिचारी यादवले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट एमाले उम्मेदवार रिमा यादवलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर सक्रिय हुन आग्रह गरे ।

प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य विजय सरावगीले मतदातासामु नयाँ इतिहास रच्ने अवसर आएको उल्लेख गर्दै शिक्षित र सक्षम युवा उम्मेदवारको पक्षमा फागुन २१ गते मतदान गर्न अपिल गरे ।

भेलामा युवा नेता मुकेश द्विवेदी, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, वडा अध्यक्ष सन्जु छतकुली, विजय कुर्मी लगायतले धारणा राखेका थिए। कार्यक्रमको स्वागत मन्तव्य पर्सा क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहाले व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, पूर्व वडा अध्यक्ष प्रदीप यादव, अजय साह तेली, रमिला खातुन, प्रद्युम्न यादव, पिन्टु उपाध्याय, बिकी सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सन्तोष पासवानले गरेका थिए ।

Back to top