×

मुम्बई । बलिउडका चर्चित अभिनेता श्रेयस तलपडे र उनीसँगैका अन्य १२ जना सदस्यहरूविरुद्ध ठगीको आरोपमा उजुरी दर्ता भएको छ। लगानीको नाममा ठूलो रकम ठगी गरेको भन्दै उत्तर प्रदेशको मैनपुरीस्थित भोगाउँ थानामा उनीहरू विरुद्ध उजुरी परेको हो।

एएनआईको रिपोर्ट अनुसार १० फेब्रुअरीका दिन दर्ता गरिएको यस उजुरीमा अभिनेता तलपडेले मानिसहरूलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ हडपेको दाबी गरिएको छ। भोगाउँ निवासी पीडितका अनुसार श्रेयस र उनको टोलीले मुम्बईको एउटा प्रतिष्ठित बैंकको शाखा भोगाउँको मिश्राना मोहल्लामा खोल्ने र त्यसमा लगानी गरे उच्च प्रतिफल पाइने भन्दै गाउँलेहरूलाई भ्रममा पारेका थिए।

अभिनेताको अनुहार र विश्वासमा परेर धेरै गाउँलेहरूले आफ्नो कमाइ लगानी गरे पनि पछि उक्त बैंक नै नक्कली भएको खुलासा भयो। यस घटनापछि अदालतले मामिलालाई गम्भीरतापूर्वक लिँदै विस्तृत अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ। उजुरीमा श्रेयसलाई ‘मार्केटिङ एडभाइजर’ को रूपमा देखाइएको छ भने उनीसँगै समिर अग्रवाल, सानिया अग्रवाल र आरके शेट्टी लगायत अन्य धेरैको नाम उल्लेख छ।

श्रेयस तलपडे ठगीको विवादमा मुछिएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०२५ मा पनि उनी विरुद्ध करोडौँको ठगी गरेको आरोप लागेको थियो। मितली गाउँकी बबली नामक महिलाले श्रेयस र आलोक नाथ सहित २२ जना विरुद्ध उजुरी दिएकी थिइन्।

एउटा कम्पनीको ब्रान्ड एम्बेसेडर रहेका श्रेयसले पैसा दोब्बर बनाउने लोभ देखाएर करिब ५०० जनालाई ठगेको आरोप त्यसबेला लागेको थियो। सोही वर्ष उत्तर प्रदेश, उत्तराखण्ड र हरियाणामा समेत उनी विरुद्ध चिटफण्ड घोटालामा उजुरीहरू दर्ता भएका थिए।

पटक–पटक ठगी र आर्थिक हिनामिनाको विवादमा नाम जोडिएपछि बलिउड वृत्तमा श्रेयसको छविमाथि प्रश्न उठ्न थालेको छ। पर्दामा आफ्नो अभिनयले दर्शकलाई हसाउने यी अभिनेता अहिले भने कानुनी झमेलाका कारण तनावमा परेका छन्।

प्रहरीले उजुरीमा नाम उल्लेख भएका सबै व्यक्तिहरूको संलग्नताबारे प्रमाण जुटाउन सुरु गरेको छ र दोषी ठहरिए उनीहरूले ठूलो कानुनी सजाय भोग्नुपर्ने देखिन्छ।

Back to top