×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुलाई वीरगञ्ज महानगरपालिका – २७ उदयपुर घुर्मीमा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमअन्तर्गत उदयपुर घुर्मीको कुहडि टोल पुगेका उम्मेदवार साहलाई टोलवासी, युवाहरू तथा पार्टी कार्यकर्ताहरूले फूलमाला, अबिर र उत्साहपूर्ण नारासहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति देखिएको थियो ।

घरदैलो अभियानका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या र आवश्यकताबारे जानकारी लिए । स्थानीयले सडकको स्तरोन्नति, ढल निकास व्यवस्थापन, स्वच्छ खानेपानीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, युवाहरूका लागि रोजगारी अवसर तथा सुरक्षित र व्यवस्थित बसोबास वातावरणको आवश्यकता औँल्याएका थिए । साहले यी विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वागतपछि आयोजित छोटो सम्बोधन कार्यक्रममा उम्मेदवार साहले राजनीति जनसेवाको माध्यम भएको उल्लेख गर्दै पारदर्शिता, जबाफदेहिता र सुशासनबिना दिगो विकास सम्भव नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा पारदर्शिता, डिजिटल प्रविधिमार्फत छिटो र सहज सेवा प्रवाह तथा राज्य संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीमा निर्भरता घटाउने लक्ष्य रहेको पनि बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, नागरिकमैत्री प्रशासन विकास गर्ने तथा आर्थिक अनुशासन कायम गर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

पर्सा–२ को समग्र विकासका लागि गुणस्तरीय सडक तथा सहरी पूर्वाधार निर्माण, सुरक्षित खानेपानी तथा ढल व्यवस्थापन, कृषि आधुनिकीकरण र किसानलाई बजार पहुँच, उद्योग–व्यवसाय प्रवर्द्धन, स्वास्थ्य संस्थाको सुदृढीकरण, युवामैत्री खेलकुद तथा सीप विकास कार्यक्रम सञ्चालन तथा सुरक्षित र व्यवस्थित सहरीकरणमा विशेष ध्यान दिइने उनले बताए ।

कार्यक्रममा रास्वपाका नेता र कार्यकर्ताहरूसँगै स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Back to top