×

वीरगञ्ज । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि भएको साङ्घातिक आक्रमण प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने मुख्य योजनाकार भनिएका मदन गुप्ता ‘रुन्चे’ अझै फरार रहेका छन् ।

माघ २६ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन गुप्ताको गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरी बलको १३ नम्बर गण र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीमाथि ढुङ्गामुढा तथा तोडफोड भएको थियो ।

भन्सार छलीका सामान अवैध रूपमा भण्डारण गरिएको विशेष सूचनाका आधारमा बिहान करिब १०:३० बजे टोली अनुसन्धानका लागि पुगेको प्रहरी टोलीमाथि योजनावद्ध रूपमा आक्रमण भएको थियो ।

आक्रमणबाट तिन जना सशस्त्र प्रहरीलाई सामान्य चोटपटक लागेको थियो भने प्रहरीको दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रमोदकुमार कानु, दीपराज सहनी मलाह, कुञ्जन सर्राफ, श्रीचन्द्रप्रसाद साह तथा भारतीय नागरिक प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन् ।

प्रहरीले मदन गुप्तासहित सात जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ तथा ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

घटनाका मुख्य योजनाकार भनिएका मदन गुप्ता फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छापामार कारबाहीका क्रममा अवैध सामान नियन्त्रणमा लिन खोज्दा आरोपित समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । घटनापछि सुरक्षा निकायले अनुसन्धानलाई तीव्र बनाउँदै संलग्न व्यक्तिहरूको पृष्ठभूमि र सम्भावित सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Back to top