×

रौतहट। गौर स्थित करदाता सेवा कार्यालय सिमरामा सार्ने सरकारी तयारीविरुद्ध व्यापारीहरूले सुरु गरेको आन्दोलन शनिबार दोस्रो दिन पनि जारी रह्यो। आन्दोलनका कारण गौर बजार पूर्ण रूपमा बन्द भएको छ।

करदाता सेवा कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारीको विरोधमा उत्रिएका व्यवसायीहरूले बिहानैदेखि मुख्य चोक–चोकमा प्रदर्शन गरेका छन्। घण्टाघर दुर्गा चोक, कविर चोक र भन्सार एरिया लगायत स्थानमा टायर बालेर नाराबाजी गरिएको थियो। बजारका सम्पूर्ण पसल बन्द हुँदा जिल्ला सदरमुकाम सुनसान बनेको छ।

सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको खबर सार्वजनिक भएपछि स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। गौरको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय चुपचाप सार्न खोजिएको भन्दै व्यापारीहरूले कडा आपत्ति जनाएका छन्।

शुक्रबार कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट बाहिर लैजान खोज्दा रौतहट उद्योग वाणिज्य संघ का महासचिव सन्तोष केसरीसहित स्थानीय व्यापारी, समाजका अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू ट्रक अगाडि धर्नामा बसेका थिए। स्थिति तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। चर्को विरोधपछि ट्रकबाट सामान अनलोड गरिएको थियो।

महासचिव केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै पूर्वजानकारी बिना गरिएको कदम अस्वीकार्य भएको बताए। “गौरबाट सेवा हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ,” उनले चेतावनी दिए।

त्यस्तै नेपाली कांग्रेसका युवा नेता नितेशकुमार गुप्ताले गौरमै करदाता सेवा कार्यालय पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने माग गरे। कार्यालय सारिए सेवाग्राहीलाई अनावश्यक सास्ती हुने उनको तर्क छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप वस्यालले व्यापारीहरूले शान्तिपूर्ण रूपमा बजार बन्द गरी प्रदर्शन गरिरहेको जानकारी दिए। प्रशासनले अवस्था सामान्य बनाउन तथा बन्द फिर्ता गराउन समन्वयात्मक पहल भइरहेको जनाएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले आन्तरिक राजस्व कार्यालय पथलैयासँगको समन्वय अभावका कारण विवाद चर्किएको स्वीकार गरे। उनका अनुसार यसअघि कार्यालय सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भए पनि निर्वाचनको मुखमा ट्रक पठाइनु उपयुक्त नभएको बताए।

समस्या समाधानका लागि आन्तरिक राजस्व कार्यालय पथलैयाका प्रमुख, उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी, सुरक्षा निकाय तथा सर्वदलीय प्रतिनिधिसहित बैठक बस्ने तयारी गरिएको छ।

हाल गौर बजार पूर्ण रूपमा बन्द रहेको छ भने भन्सार कार्यालय अगाडिको ढाँट खुला भए पनि व्यापारिक गतिविधि ठप्पजस्तै बनेको छ।

Back to top