वीरगञ्ज । “जनताको विश्वास, सुझाव र समर्थन नै हाम्रो अभियानको मुख्य आधार” भन्ने नारासहित नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आइतबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगंज क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव तथा गुनासो सुनेका थिए।
उम्मेदवार यादवले आगामी दिनमा विकास निर्माणका कामलाई तीव्रता दिने र सुशासन कायम गर्न सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले समावेशी विकास, पारदर्शिता तथा जनउत्तरदायी ढंगले काम गर्ने अठोट दोहोर्याए।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरू, स्थानीय अगुवा नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। यादवले वडा नं. २० का मतदाता तथा सर्वसाधारणबाट आफूले अपार माया र समर्थन प्राप्त गरेको दाबी गरेका छन्।