वीरगञ्ज । चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गर्दै भारत आइसिसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ। आइतबारको अन्तिम खेलमा पाकिस्तानलाई ६१ रनले पराजित गर्दै भारत एक खेल अगावै विश्वकपको सुपर ८ मा पुगेको हो । जारी विश्वकपमा सुपर ८ मा पुग्ने भारत दोस्रो टोली हो।
यसअघि आइतबार दिउँसो भएको खेलमा नेपाललाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज पनि एक खेल अगावै सुपर ८ मा पुगेको थियो । समूह ए मा रहेको भारत लगातार तेस्रो जित दर्ता गर्दै ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो । समान खेलबाट २ जित र १ हार भोगेको पाकिस्तान ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा झरेको छ ।
समूह चरणका चारै खेल खेलिसकेको अमेरिका दुई खेलमा जित र २ खेलमा हार भोग्दै ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान र अमेरिकाको समान ४ अङ्क भए पनि अमेरिका नेट रन रेटमा अघि रहँदै दोस्रो स्थानमा उक्लेको हो । ३ खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।
समूह चरणमा खेलेका तिनै खेलमा हार भोगेको नामिबिया अङ्क विहिनरुपमा पुछारमा छ । यो समूहबाट नामिबिया पनि विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबारै भएको खेलमा नामिबिया अमेरिकासँग ३१ रनले पराजित भएको थियो ।
भारतले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ ओभर अगावै १ सय १४ रनमा अलआउट भयो । पाकिस्तानका लागि उस्मान खान ४४ रन बनाउँदा अक्षर पटेलको बलमा आउट भए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सहिन शा अफ्रिदी २३ रनमा अविजित रहे ।
सदाव खान १४ रन बनाउँदा क्याच आउट नै भए। ओपनर साहिबजादा फरहान शुन्य रनमा नै हार्दिक पाड्याको बलमा क्याच आउट भए । अर्का ओपनर सैम अयुब ६ रनमा जसप्रित बुमराहको बलमा एलबीडब्लु धरापमा परे ।
कप्तान सलमान आघा ४ रन बनाउँदा जसप्रित कै बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट नै भए । मोहम्मद नवाज ४ रनमा नै आउट भए । अर्का ब्याटर बाबर अजाम ५ रनमा अक्षर पटेलको बलमा आउट भए ।
पाकिस्तानलाई कम स्कोरमा रोक्न भारतका लागि हार्दिक पाण्ड्या, जसप्रित बुमराह र अक्षर पटेल र वरुण चक्रवतीले समान २ विकेट लिए । कुलदिप यादव र तिलक बर्माले समान एक् विकेट आफ्नो नाममा गरे ।
त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि ओपनर इसान किसानले सर्वाधिक ७७ रनको योगदान दिए। उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गर्दा सैम अयुबको बलमा बोल्ड आउट हुन पुगे । कप्तान सूर्य कुमार यादव २९ बलमा ३ चौका सहयोगमा ३२ रन बनाउँदा उस्मान तारिकको बलमा सैम अयुबको हातबाट क्याच आउट भए ।
शिवम दुबे २७ रनमा रनआउट भए। तिलक बर्मा २५ रन बनाउँदा सैम अयुवको बलमा एलबीडब्लु धरापमा परे । रिंकु सिंह ११ रनमा अविजित रहे। अविशेक बर्मा, हार्दिक पाण्ड्या र अक्षर पटेल शुन्य रनमा पेभेलियन फर्के ।
पाकिस्तानका लागि सैम अयुबले ३ विकेट लिए। सलमान अघा, सहिम शा अफ्रिदी र उस्मान तारिकले समान एक विकेट आफ्नो नाममा गरे ।