चर्चित र सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर मारिएपछि मारिएपछि मेक्सिकोमा हिंसा बढेको छ।
मेक्सिकोको सुरक्षा फौजले सञ्चालन गरेको एक विशेष सैन्य कारबाहीमा एल मेन्चो नामले परिचित ५९ वर्षीय नेमेसियो रुबेन ओसेगुएरा सेर्भान्टेस मारिएका थिए। उनी मारिएपछि उनको आपराधिक गिरोहले देशका विभिन्न भागमा हिंसा भड्काएको हो।
जालिस्को राज्यको टापाल्पामा भएको मुठभेडमा घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
आफ्ना नेता मारिएको बदला लिन जालिस्को न्यू जेनेरेसन कार्टेल समूहका सदस्यहरूले सडकमा बस र ट्रकहरू जलाएर राजमार्गहरू अवरुद्ध गरेका छन्।
ग्वाडालजारा र पुएर्टो भालार्टा जस्ता प्रमुख पर्यटकीय सहरका सुपरमार्केट र बैंकहरूमा समेत आगजनी र तोडफोड भएको छ।
हिंसात्मक गतिविधिका कारण विमानस्थलहरू बन्द गरिएपछि सयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् भने हजारौँ पर्यटकहरू होटलभित्रै बन्धक बनेका छन्।
अहिले मेक्सिको सरकारले ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता लागू गरेको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई मेक्सिको भ्रमण नगर्न र त्यहाँ रहेकाहरूलाई घरभित्रै सुरक्षित रहन चेतावनी जारी गरेको छ।