×

हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोण्डाको प्रेम सम्बन्धले अब विवाहको रूप लिने भएको छ। लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई चिर्दै यो जोडीले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेका हुन्। 

उनीहरूले आफ्नो मिलनलाई फ्यानहरूले दिएको ‘विरोश’ नामबाटै ‘विरोशको विवाह’ टाइटल दिएर आधिकारिक पुष्टि गरेका छन्। इन्स्टाग्राममा एक सन्देश साझा गर्दै रश्मिका र विजयले लेखेका छन्, ‘हामीले कुनै योजना बनाउनु अघि नै तपाईंहरूले हामीलाई धेरै माया दिएर विरोश नाम दिनुभयो। त्यसैले आज हामी आफ्नो यो मिलनलाई तपाईंहरूकै सम्मानमा विरोशको विवाह नाम दिँदैछौँ।’ 

image-5_1771816051

यो घोषणासँगै उनीहरूका फ्यानहरू निकै उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा उनीहरूको विवाहको निम्तो कार्ड समेत भाइरल भएको छ, जसमा २६ फेब्रुअरी २०२६ का दिन उदयपुरमा एउटा निजी समारोहका बिच विवाह हुने उल्लेख छ। विवाहमा परिवारका सदस्य र केही नजिकका साथीहरूलाई मात्र निमन्त्रणा गरिएको छ।

यसअघि अक्टोबर ३ मा हैदराबादमा उनीहरूले सुटुक्क इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो। यद्यपि उनीहरूले त्यसलाई गोप्य राखेका थिए।

रश्मिका र विजयको जोडीलाई सन् २०१८ को फिल्म 'गीता गोविन्दम' र २०१९ को 'डियर कम्रेड' मा अन-स्क्रिन निकै रुचाइएको थियो। यी फिल्महरूको छायांकनकै समयदेखि उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा सुरु भएको थियो।

धेरै पटक सँगै घुम्न गएका तस्बिर र भिडियोहरू सार्वजनिक भए पनि उनीहरूले आफ्नो सम्बन्धबारे मौनता साध्दै आएका थिए। साउथदेखि बलिउडसम्म राम्रो प्रभाव जमाएका यी दुई स्टारको विवाहलाई सन् २०२६ को सबैभन्दा ठूलो र चर्चित विवाहमध्ये एक मानिएको छ।

Back to top