वीरगञ्ज । सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली काँग्रेसका सभापति गगनकुमार थापा माथि स्पष्ट अग्रता बनाएका छन् ।
पछिल्लो उपलब्ध प्रारम्भिक नतिजाअनुसार सिंहले २,८४७ मत प्राप्त गरेका छन् भने थापाले १,७१४ मत मात्रै पाएका छन् । उनीहरूबिच १,१३३ मतको फराकिलो अन्तर देखाएको छ ।
सर्लाही – ४ मा अन्य उम्मेदवारहरूको प्रदर्शन पनि उल्लेखनीय छ । नेकपा (एमाले) का अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन् भने नेकपा का डा. रजनिश रायले १२८ मत पाएका छन् । यसैगरी, जनमत पार्टीका राकेश मिश्र (हर्न चुनाव चिह्न) ले २६७ मत हासिल गरेका छन् ।
मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालयमा भइरहेको छ । हालसम्म बरहथवा नगरपालिकाका विभिन्न वडाहरू जस्तै बरहथवा-३, जआवि मलाहटोल-४, बरहथवा-१३ जआवि हिरापुर कोइरिटोल (क), बरहथवा-१ जआवि हजरिया (ग), बरहथवा-२ दुधडेरी भवन हजरिया (ख), बरहथवा-४ शिव मन्दिर बरहथवा (ख) र बरहथवा-२ दुधडेरी भवन हजरिया (ग) लगायतका मत गणना सम्पन्न भइसकेको छ ।
निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका छन्, जसमध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गगन थापाले काठमाडौँ-४ छोडेर यो क्षेत्र रोजेपछि यो क्षेत्र विशेष चर्चामा आएको भएपनि प्रारम्भिक प्रवृत्तिले अमरेश सिंहको बलियो उपस्थिति देखाएको छ ।
मतगणना पूर्ण नभएसम्म यो अग्रता परिवर्तन हुन सक्ने सम्भावना कायमै छ ।