वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) ले स्पष्ट बहुमतका साथ विजय हासिल गरेका छन् ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शनिवार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । यादवले १३ हजार ३० मत मात्र प्राप्त गरेका छन् ।
पर्सा – १ मा यसअघि दुई पटक निर्वाचित भएका प्रदीप यादवले २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट र २०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट जित हासिल गरेका थिए । तर यसपालि एमालेको टिकटमा चुनाव लडेका उनले आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि अपेक्षित सफलता हासिल गर्न सकेनन् ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । यो उनको संसदीय निर्वाचनमा दोस्रो प्रयास थियो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी प्रदीप यादवसँगै पराजित भएका थिए ।
रुङ्टापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्द किशोर प्रसाद श्रीवास्तवले १ हजार २ सय ७२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २ सय १ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरूले भने निकै कम मत हासिल गरेका छन् ।
निर्वाचन परिणामले पर्सा–१ मा राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आएको देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै गएको सङ्केत पन्तको जितले गरेको छ ।
पन्तले अब प्रतिनिधिसभा सदस्यको रूपमा पर्सा क्षेत्रको विकास, पूर्वाधार, रोजगारी, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा ध्यान दिने अपेक्षा गरिएको छ । मतगणना शान्तिपूर्ण तथा पारदर्शी रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।