वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि पन्त) सँग पराजय स्वीकार गर्दै निर्वाचन परिणामलाई पूर्ण सम्मान गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा रहेको उल्लेख गरेका छन् । “यही विश्वासका साथ मैले नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सूर्य चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी भएको थिएँ । यस पटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । जनताको निर्णय सधैँ मेरो लागि मार्गदर्शक रहनेछ,” उनले लेखेका छन् ।
यादवले निर्वाचन यात्रामा आफूलाई माया, विश्वास र साथ दिने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवा शक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन् । निर्वाचन अभियानमा दिनरात खटिएका कार्यकर्ता तथा सहयोगीहरूप्रति विशेष धन्यवाद दिँदै उनले लेखेका छन्, “तपाईँहरूको मेहनत, समर्पण र साथले यो यात्रा अर्थपूर्ण बनाएको छ ।”
विजयी उम्मेदवार हरि पन्तलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै यादवले थपेका छन्, “क्षेत्र र राष्ट्रको हितका लागि उहाँले उत्कृष्ट कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता अडिग रहेको र समाज तथा राष्ट्रको समृद्धिका लागि निरन्तर समर्पित रहने उनको भनाइ छ ।
फेरि एक पटक सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै यादवले आफ्नो पोस्ट समाप्त गरेका छन् ।
यस पर्सा–१ मा यसअघि दुई पटक निर्वाचित भएका यादव यसपालि एमालेको टिकटमा चुनाव लडेका थिए । तर रास्वपाका हरि पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दै १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन् । यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् ।
यादवको प्रतिक्रियाले राजनीतिक परिपक्वता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मानलाई झल्काएको छ ।