×

फाइल तस्बिर ।

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीले प्रतिनिधिसभा सदस्य पदमा भारी मतान्तरसहित विजय हासिल गरेका छन् ।

उनले कुल ४१ हजार २ सय मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्ण कुमार श्रेष्ठ (किसान) लाई २९ हजार ५ सय ६४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले मात्र ११,६३९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सन्जु साह कानुले ७ हजार ८ सय ९३ मत ल्याएका छन् भने चौथो स्थानमा नेपाली काँग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १ सय १३ मत प्राप्त गरेका छन् । पाँचौँ स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजय कुशवाहाले भने २ हजार ६७ मत मात्रै पाएका छन् ।

रहबर अन्सारी निर्वाचनको केही समयअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । उनी २०७९ को प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (१) मा मधेस प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन लड्नका लागि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए र त्यसअघि नै पार्टीसमेत परित्याग गरेका थिए ।

बारा – ४ मा रास्वपाको जितलाई परिवर्तनकारी र युवा मतदाताको आकर्षणको रूपमा हेरिएको छ । मतगणनाको क्रममा सुरुदेखि नै अन्सारीले लगातार अग्रता कायम राखेका थिए र अन्तिमसम्म फराकिलो मतान्तर कायम गरेका थिए ।

Back to top