×

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री अजयकुमार चौरसियाले निर्वाचन परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेका छन् ।

शनिवार समाप्त मतगणनाको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु विजयी भएपछि उनलाई सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै चौरसियाले लोकतन्त्रमा जनताको फैसला नै सर्वोच्च हुने बताउँदै हार्दिकतापूर्वक आफ्नो हार स्वीकार गरेका हुन् ।

“लोकतन्त्रमा जनताको फैसला नै सर्वोच्च हुन्छ । पर्सा–२ का सम्मानित मतदाताहरूबाट प्राप्त यो जनादेसलाई म पूर्ण रूपमा सम्मान गर्दछु,” उनले लेखेका छन् ।

चौरसियाले नवनिर्वाचित कानुलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् । “जनताले अपेक्षा गरेको परिवर्तन र विकासको यात्रा पूरा होस्,” उनले थपेका छन् ।

त्यस्तै, निर्वाचन अभियानमा आफूलाई समर्थन गर्ने सबै मतदाता, काँग्रेसका नेता–कार्यकर्ता र शुभचिन्तकहरूप्रति गहिरो आभार प्रकट गरेका छन् ।

राजनीतिक जीवनमा जित र हारलाई सामान्य घटना भएको बताउँदै चौरसियाले आफू सधैँ जनताको बिचमा रहने प्रतिबद्धता पनि जनाएका छन् । “म पहिले पनि हारेर यहीँ जनतासँग थिएँ, आज पनि छु र भोलि पनि यहीँ रहनेछु,” उनले लेखेका छन् ।

पर्सा–२ का बासिन्दाहरूको अधिकार, समृद्धि र उज्ज्वल भविष्यका लागि आफ्नो सङ्घर्ष जारी रहने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

शनिवार सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार चौरसिया रास्वपाका कानुसँग १८ हजार ८ सय ५० मतको फराकिलो अन्तरले पराजित भएका छन् । कानुले ३० हजार ७ सय ४० मत प्राप्त गर्दा चौरसियाले केवल ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् ।

Back to top