×

वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल जस्ता पेट्रोलियम पदार्थहरूलाई बोतल वा जेरिक्यानमा भरेर बेच्न र वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

निर्णयलाई लागू गर्न निगमले सोमबार विभिन्न पेट्रोलियम डिलर्स एसोसिएसनहरूलाई औपचारिक पत्र पठाएको छ ।

निगमका अनुसार, विभिन्न ठाउँमा केही पसलहरू र व्यक्तिहरूले यस्ता अति ज्वलनशील पदार्थहरूलाई बोतलमा भरेर बेच्ने गरेको गुनासो बढ्दै गएको छ । यसले आगलागी, विस्फोट वा अन्य गम्भीर दुर्घटनाको जोखिम बढाउने भएकाले तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको छ ।

एसोसिएसनहरूलाई आफ्ना सदस्य बिक्रेताहरू र पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा इन्धन दिने अभ्यास तुरुन्त बन्द गर्न निर्देश दिइएको छ । साथै, सर्वसाधारणलाई पनि यसबारे जानकारी दिई नजिकैका अधिकृत पेट्रोल पम्पहरूबाट मात्र इन्धन खरिद गर्न प्रोत्साहित गर्न भनिएको छ ।

निगमको अनुगमन टोलीले यसको पालना नभएको पाइएमा नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । यो कदमले सुरक्षित इन्धन वितरण प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Back to top