×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रुपेश कुमार पाण्डेयले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमाकान्त चौरसियासँग पराजित भएका पाण्डेयले बिहीबार निर्वाचन आयोगको कार्यालय पर्सामा नियमानुसार चुनावी खर्चको विवरण बुझाउँदै सार्वजनिक गरेका हुन् ।

पाण्डेयले बिहीबार जिल्ला निर्वाचन कार्यालय पर्सामा आफ्नो निर्वाचन प्रतिनिधि विद्याञ्चल  ठाकुर मार्फत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउँदै सार्वजनिक गरेका हुन् ।

विवरण अनुसार पाण्डेय चुनावी अभियानका क्रममा ११ लाख ७५ हजार २७१ रुपैयाँ ८ पैसा खर्च भएको दाबी गरेका छन् । सबैभन्दा धेरै उनको खर्च प्रचार प्रसार सामग्री खरिद, वितरण लगायतमा ४ लाख ९५ हजार २७३ रुपैयाँ र दोस्रोमा सवारीसाधनको इन्धनमा २ लाख रुपैयाँ ८ पैसा खर्च भएको छ ।

त्यस्तै मनोनयन दर्ताका क्रममा १० हजार रुपैयाँ, १९ दिनका लागि दुई वटा अटो रिक्सा भाडामा लिए बापत उनले १ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् । त्यस्तै नेता, कार्यकर्ता र स्वयंको नास्ता र चियामा उनको ५७ हजार रुपैयाँ खर्च भएको छ भने पानीमा उनले १५ हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

यस्तै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने ७ ठाउँमा निर्वाचन परिचालन सम्पर्क कार्यालय सञ्चालन गर्न उनको ६७ हजार ३४८ रुपैयाँ खर्च भएको छ भने पालिका स्तरीय बैठकका क्रममा नास्ता वितरणमा उनको १ लाख ३१ हजार ६५० रुपैयाँ खर्च भएको छ ।

पाण्डेयले ९ हजार रुपैयाँमा मतदाता नामावली खरिद र फोटोकपीमा खर्च भएको उल्लेख गरेका छन् ।

Back to top